Nepal Purbadhar

सडक विभागको काम गर्ने क्षमता : १ सय रुपैयाँ दिँदा ७३ रुपैयाँ मात्र खर्च


काठमाडौं । संभवत सबैभन्दा धेरै विकास खर्च गर्ने संघीय सरकारको निकायहरुमध्ये सडक विभाग पहिलो नम्बरमा आउँछ । यसलाई वार्षिक विनियोजन हुने बजेटको परिमाणले पनि यो धेरै बजेट पाउने सार्वज्निक निकायमा पर्छ । सडक विभागलाई पछिल्ला ५ आर्थिक वर्षमा वार्षिक १ खर्ब रुपैयाँभन्दा धेरै विनियोजन गरेको तथ्यांकले देखाउँछ । यो तथ्यले पनि विकास बजेट धेरै खर्च गर्ने निकायहरुमध्ये अग्रस्थानम उभ्याउँछ । यति धेरै विकास बजेट विनियोजित भए पनि विभागको काम गरेर खर्च सक्ने क्षमता भने उत्साही बनाउने खालेको देखिदैन् ।

सडक विभागकाे १० वर्षको बजेट, खर्च र खर्च प्रतिशत (रु हजारमा)

आर्थिक वर्षकुल विनियोजन (रू)कुल खर्च (रू)कुल खर्च प्रतिशत
२०७०/७१३३९४४१७१२८७००४४०८४.५५
२०७१/७२४०२३७८८४३२३२८७५०८०.३४
२०७२/७३४९३१११८६३४४१८१०२६९.७९
२०७३/७४७२१९५११६६३८९२०७५८८.४९
२०७४/७५८९२८५९५१८१८९७५०२९१.७२
२०७५/७६१०८३०६९९४७९९३९१५२७३.८
२०७६/७७१२७१३१६७६६९४८७४४७५४.६५
२०७७/७८१२११२२४८६८१६०५११६६७.३७
२०७८/७९१३९१३३०३४७२६२३८४९५२.१९
२०७९/८०१२२७५३११४८४३२२८२५६८.७०
कुल९०३४२१६१२६२९२१५२५८७३.१६ (औसत)

स्राेतः सडक विभाग

पछिल्ला १ दशकमा विभागलाई विनियोजन गरिएको बजेट र खर्चको अनुपातलाई हेर्दा जुन लक्ष्य राखेर बजेट छुट्याइन्छ, लक्ष्यअनुसारको उपलब्धी प्राप्त गर्न सकिएको छैन भन्ने देखिन्छ ।

वार्षिक खर्च ६२ अर्ब ९२ करोड

पछिल्ला १० वर्षमा संघीय सरकारले विभागलाई छुट्याएको बजेट ९ खर्ब ३ अर्ब ४२ करोड १६ लाख रुपैयाँ छ । यसको अर्थ औसतमा वार्षिक रुपमा सडक विभागलाई जाने बजेट ९० अर्ब ३४ करोड २१ लाख रुपैयाँ बराबर हुन्छ । तर, वार्षिक रुपमा औसत खर्च भने ६२ अर्ब ९२ करोड १५ लाख रुपैयाँ हुने गरेको छ ।
यसको अर्थ औसतमा वार्षिक रुपमा विनियोजित बजेटको ७३ प्रतिशत मात्र खर्च हुने गरेको छ । यसलाई अझ सरल रुपमा बुझाउँदा सडक विभागलाई १ सय रुपैयाँ १ वर्षको लागि खर्च गर्न दियो भने वर्षको अन्तिममा ७३ रुपैयाँ १६ पैसा मात्र खर्च गरेको हुनेछ । खर्च गर्न दिएको रकममध्ये २६ रुपैयाँ ८४ पैसा फिर्ता हुनेछ ।
समग्रमा १० वर्षको औसत खर्च ७३ प्रतिशत देखिए पनि हरेक वर्षको खर्च फरक फरक छ । विभागले यो अवधिमा आब २०७४÷७५ मा सबैभन्दा धेरै विनियोजित बजेटको ९१ दशमलव ७२ प्रतिशत खर्च गरेको छ । त्यस्तै, सबैभन्दा न्यून आब २०७८/७९ मा विनियेजित बजेटको ५२ प्रतिशतमा खर्च भएको तथ्यांकले देखाउँछ ।

खर्च गर्ने क्षमता ८५ अर्बभन्दा तल, विनियोजित बजेट १ खर्ब माथि

सरकारले सडक विभागलाई विनियोजन गर्ने खर्च र विभागको खर्च गर्ने क्षमतालाई ध्यान दिएको देखिदैन् । पछिल्ला ५ वर्ष लगातार रुपमा १ खर्बभन्दा बढी अर्थात १ खर्ब ३९ अर्ब रुपैयाँसम्म विनियोजन गरेको छ । जबकि विभागले अहिलेसम्म गरेको अधिक खर्च भनेको ८४ अर्ब ३२ करोड २८ लाख रुपैयाँ हो । यो खर्च पनि गत आर्थिक वर्षको हो । त्यसअघि अधिकतमत खर्च ८१ अर्ब हाराहारीमा सिमित थियो । यसले बजेट विनियोजन गर्दा यसको क्षमतालाई नहेरी कार्यक्रम राख्ने गरेको देखाउँछ ।

अर्कोतर्फ १० वर्षअघिसम्म विभागले औसतमा वार्षिक ३० देखि ३२ खर्ब रुपैयाँ खर्च गर्ने गथ्र्यो । त्यसबेला वार्षिक बजेट विनियोजन पनि ४० देखि ४४ अर्ब रुपैयाँको हाराहारीमा थियो । विभागका जिम्मेवारी अधिकारीहरुको अनुसार त्यही ३० देखि ३२ अर्ब खर्च गर्ने क्षमता भएको जनशक्तिले अहिलेको १ खर्ब २० अर्ब रुपैयाँभन्दा धेरै भार बोक्नु परेको छ । यसले पनि खर्च गर्ने क्षमतामा ह्रास आएको उनीहरुको भनाइ छ । यसले विकास खर्च घटाएको मात्र छैन् । गरेको कामको गुणस्तरमा प्रश्न उठिरहेको छ । यो अवधिमा विभागको जनशक्ति थप गर्ने काम भएको छैन् ।

यति मात्र होइन, बजेटको प्रभावकारी विनियोजन नभइरहेको देखिन्छ । विभागको क्षमता ८५ अर्ब रुपैयाँ वार्षिक खर्च गर्न सक्ने क्षमता हो भने १ खर्ब २१ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुले कुनै अर्थ राख्दैन् । बरु विस्तारै ८५ अर्बको ठाउँमा जनशक्ति वा आवश्यक पूर्वतयारी गरेर ९० अर्ब पुर्याउनु प्रभावकारी हुने थियो । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा सडक विभागको लागि धेरै बजेट विनियोजन भएको देखाउने प्रतिस्पर्धा छ । यसको परिणामत वर्षको अन्त्यमा लक्ष्य पूरा नहुने प्रवृति हरेक वर्ष दोहोरिरहेको छ ।

विभागको खर्च बढ्न नसक्नुमा हरेक वर्षजसो कुनै न कुनै बहाना बन्ने गरेका छन् । केही विषय दोहोरिने गरेका छन् भने केही नयाँ थपिन्छन । मन्त्रालय र विभागका जिम्मेवार व्यक्तिहरुले निर्माण सामाग्री नपाएको, स्थानीयले अवरोध गरेको, वर्खा र चाडवाडमा काम नभएको, वनले रुख काट्न नदिएको, जग्गा प्राप्तिमा ढिलाइ भएको, खरिद प्रक्रियामा समय लागेको जस्ता कारण बताउने गरेका छन् । तर, यो वर्ष जे कारणले अवरोध भएको हो वा काम हुन नसकेको हो त्यो अर्को वर्ष पनि समाधान हुन्छ वा हुदैन भन्ने कुनै पूर्वानुमान गरिदैन् । अर्को वर्ष पनि बजेट वृद्धि गर्ने भन्नेमा बढी केन्द्रित हुने गरेका छन् । अनि स्वभावत फेरी त्यही श्रृखला दोहोरिने गरेको छ ।

कसरी बढाउन सकिएला खर्च ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चालु आर्थिक वर्ष सडक विभागको खर्च ९० प्रतिशत पुर्याउने गरी काम भइरहेको बताउँछन् । ‘छिटो ठेक्का लगाउने, कुनै पनि समस्यालाई तत्काल समाधान गर्ने र एकजुट भएर काम गर्दा खर्च बढ्ने निश्चित छ’ उनले भने । यसको लागि मन्त्रालयले आवश्यक समन्वय गर्ने, स्थलगत अवलोकन गनेर समस्या समाधानको लागि सहयोगी हुने गरी काम गर्ने उनको भनाइ छ ।

यसको साथै प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीले सचिव तथा सहसचिवसँग कार्यसम्पान सम्झौता गरेका छन् । यसले पनि खर्च वृद्धि गर्नमा सहयोग पुग्ने मन्त्री ज्वालाले उल्लेख गरे । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा गत आर्थिक वर्षमा चुनाव, खानीमा भएको अवरोधलगायतका कारण अपेक्षित उपलब्ध हासिल हुन नसके पनि चालु आर्थिक वर्षमा समग्र खर्च प्रतिशत बढ्ने बताए । त्यस्तै, गत वर्षको खर्च पनि निराशाजनक भने नभएको उनको भनाइ छ ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल चालु आर्थिक वर्षमा खर्च वृद्धि गर्नको लागि रहेका अवरोधलाई हटाउने र अधिकतम परिणाम दिने गरी काम गर्ने बताए । ‘सामान्य अवस्थामा तोकिएको लक्ष्य पूरा गरिनेछ’ उनले भने । खर्च वृद्धि गर्नको लागि गर्नुपर्ने आवश्यक काम समयमै गरिने महानिर्देशक ढकालको भनाइ छ ।

बजेट खर्च न्यून हुनुमा वैदेशिक सहयाेगकाे मात्रा धेरै राखिनु तर समयमा प्राप्त नहुनु, रकमान्तर गरेर खर्च गर्ने विषयलाइ नकरात्मक रूपमा लिनु र त्यसरी खर्च नगर्नु साथै एउटा कामकाे लागि बजेट राख्ने तर अर्काे कारणले काम गर्न नसक्दा पनि खर्च गर्न सकिएकाे छैन् । ‘उदाहरणकाे लागि कुनै सडक निर्माण गर्ने भनेर बजेट राखिन्छ । तर जग्गा प्राप्ति भएकाे हुदैन् । जग्गा प्राप्ति गर्नकाे लागि बजेट हुदैन, अनि सडक निर्माणकाे बजेट खर्च हुदैन्र’ महानिर्देशक ढकालले भने । चालु आर्थिक वर्षमा यस्तै समस्या भयाे भने मात्र, हाेइन भने सबै याेजनाकाे काम शतप्रतिशत सक्ने उनकाे दाबी छ ।

सडक विभागलाइ चालु आर्थिक वर्षकाे लागि करिब ९८ अर्ब रूपैयाँ विनियाेजन गरिएकाे छ । नयाँ कार्यक्रम थपिएका छैनन् । ताेकिएकाे समयावधी सकिएका तर सम्पन्न नभएका पूरानै कार्यक्रमलाइ निरन्तरता दिइएकाे छ । बजेट थाेरै भएकाे कारण अघिल्ला वर्षहरूमाभन्दा फरक थाेरै बजेट खर्च गर्दा पनि धेरै प्रतिशत खर्च देखिनेछ । तर, वर्षाैदेखि काम हुन नसकेका र रूग्न बनेका परियाेजनामा खर्च बढ्ने गरी काम गर्न सहज भने हुनेछैन् ।

Facebook Comments

Read Previous

पूर्वाधार मन्त्री ज्वालाको रसियन राजदुतसँग भेट, काठमाडौंमा मेट्रो रेल निर्माणको प्रस्ताव दिन रसियन पक्षकाे अनुराेध

Read Next

एनसेलको फोरजी जुम्ला पुग्यो, स्थानीय उच्चगतिको फोरजी सेवाबाट लाभान्वित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar