
काठमाडौं। तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर सरकारविरुद्ध प्रदर्शन गरेका छन्। उत्पादनको उचित मूल्य नपाएको, बजार व्यवस्थापन प्रभावकारी नभएको र सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको टमाटर बिक्री हुन नसकेको र लागतसमेत उठाउन कठिन भएको गुनासो गरे। सरकारको कृषि नीति स्वदेशी उत्पादनभन्दा आयातमुखी भएकाले नेपाली किसान प्रत्यक्ष रूपमा प्रभावित भएको उनीहरूको आरोप छ।
विरोध जनाउने क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको टमाटर सडकमै फाल्दै कृषि क्षेत्रप्रति सरकारको नीति र व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

प्रदर्शनकारी किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनमा अनुदान वृद्धि, मल तथा बीउको सहज उपलब्धता, प्रभावकारी बजार व्यवस्थापन र स्वदेशी कृषि उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको भन्दै स्वदेशी उत्पादनको संरक्षण र किसानमैत्री कृषि नीति कार्यान्वयन गर्न समेत सरकारसँग आग्रह गरेका छन्।

