Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

झोलुंगे पुलका कारण त्रिवेणीमा बढे पर्यटक


त्रिवेणी । वाल्मीकि आश्रमलाई जोड्ने गरी त्रिवेणीस्थित नारायणी नदीमा झोलुंगे पुल निर्माणपछि यहाँ पर्यटकको आगमन बढेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित त्रिवेणीधाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरी नारायणी नदीमा झोलुंगे पुल निर्माण भएपछि पर्यटकको आगमनमा वृद्धि भएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए।

हालै मात्र वाल्मीकि आश्रममा नेपालकै बाटो भएर जान मिल्ने गरी नारायणी नदीमा पुल निर्माण गरिएको छ। पुल निर्माण गरेसँगै त्रिवेणीधामसहित पुल अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढेको अध्यक्ष शाहले बताए। झोलुंगे पुल क्षेत्रमा मात्रै दैनिक पाँच सयका हाराहारीमा पर्यटक आउने गरेको उनले बताए।

यहाँ आउने धेरैजसो पर्यटक भारतीय हुने गरेका छन्। साथै नवलपुरसहित नजिकका जिल्लाबाट समेत त्रिवेणीधाम र झोलुंगे पुल अवलोकनका लागि पर्यटक आउने गरेको उनले बताए। पुल क्षेत्रमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ। ‘हिजो आज पुल क्षेत्रमा पर्यटकको आगमन बढेको छ, अहिले पुलबाट वाल्मीकि आश्रम जान मिल्दैन, तर पुल हेर्न, फोटो खिच्न, टिकटक बनाउन मात्रै भए पनि पर्यटक आउने क्रम बढेको छ,’ अध्यक्ष शाहाले भने।

वाल्मीकि आश्रम जान मिल्ने गरी निर्माण गरिएको झोलुंगे पुल पाँच सय ३५ मिटर लम्बाइको रहेको छ। पुल नौ वर्षमा निर्माण सम्पन्न भएको हो। पुल निर्माण गरिएको भए पनि हाल सुरक्षा चुनौतीका कारण पुलबाट वाल्मीकि आश्रम जान रोक लगाइएको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने भएकाले सुरक्षाको प्रबन्ध नभएसम्मका लागि पुलबाट आवतजावतमा रोक लगाइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए।

चितवनतर्फ पुल पारी वाल्मीकि आश्रमसम्म जानका लागि हाल बाटो निर्माणको कामसमेत बाँकी रहेको छ। सुरक्षाको प्रबन्धसँगै पारिपट्टि बाटो निर्माणका बारेमा छलफल चलिरहेको गाउँपालिका अध्यक्ष गिरीले बताए। ‘सुरक्षाकर्मी स्थायी रूपमा बस्ने गरी केही संरचना निर्माण गर्ने विषयमा छलफल चलेको छ, पारिपट्टि बाटोसमेत बनाउनुपर्ने छ,’ उनले भने, ‘त्यसपछि झोलुंगे पुल सञ्चालन गर्ने कुरा छ, त्यसपछि नेपालकै बाटो भएर सहज रूपमा वाल्मीकि आश्रम जान सकिन्छ।’

चितवनमा पर्ने वाल्मीकि आश्रम पुग्न यसअघि भारतको बाटो हुँदै जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै जान मिल्ने गरी त्रिवेणीस्थित नारायणी नदीमा झोलुंगे पुल निर्माण गरिएको हो। पुल निर्माण गरे पनि अझै सञ्चालनमा ल्याउन नसक्दा भने यहाँ पुग्ने पर्यटक वाल्मीकि आश्रम नगइ फर्कने गरेका छन्। चाँडै आवश्यक व्यवस्थापन गरी पुलबाट वाल्मीकि आश्रम जाने प्रबन्ध गरे त्रिवेणीसहित यस क्षेत्रमा थप पर्यटकको आगमन बढ्ने स्थानीय हरिशंकर कँडेलले बताए।

वाल्मीकि आश्रम चितवनमा पर्ने भए पनि यसको व्यवस्थापनको काम गाउँपालिकाले गर्दै आएको छ। त्रिवेणी धामसँगै वाल्मीकि आश्रमलाई एकीकृत गरी पर्यटन प्रवर्द्धन गर्न सके यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको थप आगमन बढ्ने कँडेलले बताए।


Read Previous

यातायात क्षेत्रका अन्तर्राष्ट्रिय उत्तम अभ्यास कार्यान्वयनमा विज्ञकाे जोड

Read Next

निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

Leave a Reply

Your email address will not be published. Required fields are marked *