Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

हवाई सेवा उदारीकरणको तीन दशकमा निजी सेवाकाे विस्तार,नीति कार्यान्वयनमा अझै सुधारकाे खाँचाे


काठमाडाैं । सन् १९४९ मा चार सिट क्षमताको बोनान्जा बिचक्राफ्ट काठमाडौंमा अवतरणसँगै सुरु भएको नेपालको हवाई सेवामा अहिले झन्डै चार दर्जन विमान सेवा कम्पनी सक्रिय छन् । नेपालमा करिब ७३ वर्षको इतिहास बोकेको यस क्षेत्रले गति लिन सुरु गरेको भने तीन दशक मात्र भएकाे छ ।  सन् १९९० को सुरुवातदेखि देशले आर्थिक उदारीकरणको नीति लिएपछिको द्रुत गतिमा विकास भएको हो उड्ययन क्षेत्र ।

सरकारको एउटा मात्र वायुसेवा कम्पनी शाही नेपाल वायूसेवा निगम-हालको नेपाल वायूसेवा निगमको एकाधिकार तोडिने गरी निजी क्षेत्रका विमान सेवाको प्रवेशले यस क्षेत्र गतिशील भइ मौलाउन थाल्यो । नेपालमा निजी विमान सेवाको प्रवेश खुला गर्ने गरी आएको ‘राष्ट्रिय हवाई नीति २०५०’ नै नेपालमा वायूसेवाको विकासको महत्वपूर्ण मोड हो  ।

यस नीतिले व्यापारिक उडान गर्नेगरी निजी विमानसेवा कम्पनीहरु संचालन खुला गरेकामात्र नभइ अन्तर्राष्ट्रिय उडानका लागि पनि नेपालका निजी वायुसेवा कम्पनीहरुलाई अनुमति दिइएको छ । यसले हेलिकप्टर सेवालाई पनि खुला गरेको छ । विमानसेवा कम्पनीहरु स्थापना र संचालनका लागि निजीक्षेत्रको स्वदेशी लगानी वा विदेशी लगानी वा संयुक्त लगानीलाई खुला गरिएको कारण यसक्षेत्रमा विगत ३० वर्षमा अरबौंको लगानी भएको छ भने रोजगारी तथा राजश्वमा समेत महत्वपूर्ण योगदान पुगेको छ ।

सुरुआतमा खुलेका निजी विमानसेवा नेपाल एयरवेज, नेकोन एयर र एभरेष्ट एयर व्यवस्थापनको कमजोरीले बन्द हुन पुगे पनि त्यस पछि १९९७ मा बुद्ध एयर र सन् १९९८ मा यती एयरलाइन्सको स्थापना भए, जुन सफल रूपमा संचालनमा छन् । पछि क्रमशः माउन्टेन एयर, साङग्रीला, अग्नी,सीता श्री एयरलाइन्स,समिट,सौर्य लगायतका विमान कम्पनीहरुले व्यवसायिक उडान थाले । हेलिकप्टर सेवामा पनि उल्लेख्य विस्तार भएको छ यस अवधिमा ।

नेपालको उड्ययन क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको निजी क्षेत्रप्रति सरकार पूर्ण रुपमा उदार हुन नसकेको गुनासो भने निजी कम्पनीहरूको छ । उनीहरूको मुख्य गुनासो छ –‘सरकारले हवाई नीति पूर्ण रूपमा कार्यान्वयन गरेन’ ।

के छ हवाई नीतिमा 

नेपालको सामाजिक–आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको पर्यटन उद्योगको माध्यमद्वारा आवश्यक पूर्वाधार तयार गरी सुदृढ़, प्रभावकारी, सक्षम, सबल एवं सुलभ हवाई यातायात सेवाको विकास गर्ने उद्देश्यले राष्ट्रिय हवाई नीति २०५० ल्याइएको थियो ।

उक्त नीतिको मूल उद्देश्य पर्यटन नीति अनुकूल देशको पर्यटन विकास र प्रवर्द्धनमा सहयोग पुर्याउने थियो भने स्वदेशी, विदेशी वा संयुक्त लगानीमा अन्तर्राष्ट्रिय हवाईसेवा संचालन गर्ने विमान सेवाहरुको विकास, विस्तार, सम्बर्द्धन र संरक्षण गर्ने, आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवाको संचालनमा निजी क्षेत्रलाई समेत  प्रोत्साहित गरी स्वस्थ प्रतिस्पर्धात्मक वायुसेवाको विकास गर्ने लक्ष्य थियो ।

यसको अलवा दुर्गम क्षेत्रका विमानस्थलहरुको विकास तथा विस्तार गर्ने, हवाई यातायातलाई भरपर्दो एवं सुरक्षित बनाउने नीति थियो । साथै नागरिक उड्डयनका क्षेत्रमा उदार आकाश नीति (ओपन स्काइ पोलीसी) अवलम्बन गर्दै विदेशी विमानसेवाहरुलाई नेपालमा उडान संचालनका लागि प्रोत्साहन गर्ने, नेपालको हवाई मार्गहरु निर्धारण गर्ने, थप आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरुलाई प्रोत्साहन गर्ने सरकारको योजना थियो ।

खुल्ला नीति कार्यान्वयन नहुँदा समस्या’

सरकारले खुला आकाश नीति लिएको भएपनि हवाई मार्गको विकासमा यस नीतिको प्रभावकारी कार्यान्वयन नभएको गुनासो निजी वायुसेवा संचालकहरूको छ ।  ‘प्रशासनिक झन्झट उत्तिकै छ । सरकार राजस्वमूखी मात्र देखिएको छ ।  अझै पनि बन्देजको नीति कायमै छ । त्यसैले हवाई क्षेत्रमा सोचे जति निजी क्षेत्रले फड्को मार्न सकेन,’ श्री एयरलायन्सका अध्यक्ष सुधीर मित्तल भन्छन् ।

नेपालको विकट भौगोलिक बनावट र सडक मार्गको पहुँच कमजोर रहेको अवस्थामा हवाईसेवाको विस्तार अपरिहार्य भएको बताउँदै मित्तल यस क्षेत्रको दिगो विकासमा सरकारले खुल्ला हवाई नीतिलाई प्रभावकारी पालना गर्नुपर्नेमा जोड दिन्छन् ।  ‘सरकार हवाई नीतिको कार्यान्वयन गर्नु भन्दा हवाई क्षेत्रका निजी सेवा प्रदायक प्रति अझ बढि कठोर बनेको छ,’उनको गुनासो छ,‘हवाई मार्गले आर्थिक उन्नति र उत्पादनशील बनाउन सहयोग पुगेको छ भन्ने विर्सनु हुँदैन ।’

सुधीर मित्तल, अध्यक्ष, श्रीएयरलायन्स

‘प्रशानिक झन्झट उत्तिकै छ । सरकार राजस्वमूखी मात्र देखिएको छ ।  अझै पनि बन्देजको नीति कायमै छ । त्यसैले हवाई क्षेत्रमा सोचे जति निजी क्षेत्रले फड्को मार्न सकेन’ 

निजी क्षेत्र पछाडि पर्नुमा कतिपयले कमजोर प्रविधि र जनशक्ति व्यवस्थापन हुन नसक्नुलाई पनि लिन्छन् । नेपालको सबैभन्दा ठूलो निजी वायूसेवा कम्पनी बुद्ध एयरका सेल्स एन्ड मार्कर्टिङ प्रमुख रुपेश जोशी भन्छन्, ‘भौगोगिक विकता भएको हाम्रो मुलुकमा पहाड तथा हिमाली भागलाई जोड्ने सरल माध्यम नै हवाई क्षेत्र हो तर समय अनुसारको प्रविधिको प्रयोग नहुनु दक्ष जनशक्ति र पूर्वाधारको अभावले यस क्षेत्रले सोचे अनुसार फड्को पार्न सकेको छैन।’ यसको लागि नियमक निकायले प्रभावकारीता सहजीकरण र अनुगमन गर्नुपर्ने उनको भनाई छ ।

पछिल्लो समय सडक विस्तार भौगोलिक बनावट तथा बनेको सडक मार्ग व्यवस्थित नहुदाँ आवतजावतको लागि सडक मार्गभन्दा हवाई मार्ग सुरक्षित र भरपर्दो मान्ने गरिएको छ ।

रुपेश जोशी, सेल्स एन्ड मार्कर्टिङ प्रमुख, बुद्ध एयर

‘भौगोगिक विकटता भएको हाम्रो मुलुकमा पहाड तथा हिमाली भागलाई जोड्ने सरल माध्यम नै हवाई क्षेत्र हो तर समय अनुसारको प्रविधिको प्रयोग नहुनु दक्ष जनशक्ति र पूर्वाधारको अभावले यस क्षेत्रले सोचे अनुसार फड्को पार्न सकेको छैन

हवाई क्षेत्रमा लगानी विस्तारसँगै यात्रुको संख्या पनि बढ्दो छ । हवाई क्षेत्रमा निजी क्षेत्रको प्रवेश भएसँगै सरकारी वायूसेवालाई प्रतिस्पर्धी बन्न दवाव परेकोयती  एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैला बताउँछन् ।

हवाई क्षेत्रमा लगानी विस्तार भए पनि यस क्षेत्रको विकासमा आवश्यक मात्रामा पूर्वाधारको विकासले भने गति लिन नसेकोमा यति एयरलाइन्सका प्रवक्ता बर्तौला पनि सहमत छन् ।

सुदर्शन बतौला, प्रवक्ता, यती एयरलाइन्स

‘राजनीतिक हस्तक्षेप, चुनावी नारामा विमानस्थल निर्माण गर्ने प्रवृत्ति छ, उड्डयन क्षेत्रको प्राविधिक पक्षलाई हेरिदैन, यसको पो कार्यान्वयन पक्ष बलियो हुनुपर्ने हो । मूलतः हवाई नीतिको प्रभावकारी कार्यन्वयन नहुनु नै हवाई क्षेत्रको लागि विडम्बना हो’

सरकारले हवाई नीतिको प्रभावकारी कार्यान्वयन गरेको खण्डमा मात्र पनि नेपालको नागरिक उड्डयन क्षेत्रले गति दिने उनको भनाई छ । ‘राजनीतिक हस्तक्षेप, चुनावी नाराका विमानस्थल निर्माण गर्ने प्रवृत्ति छ, उड्डयन क्षेत्रको प्राविधिक पक्षलाई हेरिदैन, यसको पो कार्यान्वयन पक्ष बलियो हुनुपर्ने हो’–उनी भन्छन्–‘मुलतः हवाई नीतिको प्रभावकारी कार्यन्वयन नहुनु नै हवाई क्षेत्रको लागि विडम्बना हो ।’

सडकको विस्तार र पहुँच  राम्रो नभएसम्म हवाई सेवा प्रदायकलाई नीतिगत रूपमा सुविधा दिनु पर्ने धारणा अध्यक्ष मित्तलको छ । उनी भन्छन् , ‘देशमा सरकारले हवाई क्षेत्रलाई सुविधा दिएको छ । सरकारले लागू  गर्ने हवाई नीति हवाई क्षेत्रलाई विस्तार गर्ने, यात्रा सहज बनाउने तथा हवाई कनेक्टीभिटीमा सुधार गर्ने खालको हुनु पर्छ ।’

देशभर ७२ विमास्थल र ४६ कम्पनीका विमान उडानमा

हालसम्म नेपालमा २  अन्तर्राष्ट्रिय विमानस्थलसहित ७२ वटा विमानस्थल रहेकोमा ३५ विमानस्थल सञ्चालनमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्कले बताउँछ । हाल २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र २० आन्तरिक वायुयान कम्पनीले उडान भरिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मुलतः नेपाली आकाशमा आन्तरिकतर्फ भने  बुद्ध एयर, सिम्रिक, नेपाल वायुसेवा,श्रीएयरलाइन्स, गुण एयरलान्स तारा, सीता,समिट, यती,  सौर्य एयरलान्सले उडान भर्दै आएका छन् ।  साथै हेकिप्टरमा एयर डाइनेष्टि, एल्टिच्यिूट, फिस्टल, माउन्टेन, मनास्लु, प्रभू,श्री, सिम्रिक, हेलि एभरेष्ट, कैलास हेली, मनाङ एयर लगायतले सेवा दिदै आएका छन् ।

नेपाल वायूसेवा निगम, श्री एयरलाइन्स, हिमालय र बुद्ध एयर गरी चार स्वदेशी कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति लिएका छन् । पछिल्लो समय बीबी एयर वेजले समेत अन्तर्राष्ट्रिय उडानका लागि अनुमति लिएको छ ।

उड्डयन क्षेत्रमा निजीक्षेत्रले ल्याएको परिवर्तन

नेपालको हवाईक्षेत्रमा पनि  निजीक्षेत्रको प्रवेशले निकै ठूलो परिवर्तन आउनुका साथै सरकारी निकायसँग प्रतिस्पर्धी बन्न सकेको यति एरलाइन्सका प्रवक्ता बर्तौलाको भनाई छ । आन्तरिक तथा बाह्य उडानमा निजीक्षेत्रको प्रवेशले नेपाल वायुसेवा निगमलाई सशक्त बन्न लागि दवाव दिएको छ । राजनीतिक हस्तक्षेप र आन्तरिक व्यवस्थापनमा दिगो योजना अगाडि नसार्दा खस्किदो साखलाई जोगाउन निगम लागिपरेको छ ।

हवाईक्षेत्रमा निजीक्षेत्रको प्रवेशले नै प्रदेशहरूबीच सहज सम्पर्क स्थापना गर्न पनि महत्वपूर्ण भूमिका खेलेको बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ प्रमुख जोशीको भनाई छ ।  ‘अहिले कुनै पनि स्थानबाट राजधानी आएर त्यसै दिन काम सकेर घर फिर्ता हुन सक्ने अवस्था छ । हवाई सेवामा आएको निकै ठूलो परिवर्तन हो,’ जोशी भन्छन् ।

पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र हुने पहिलो उडानलाई रोकेर मोफसलबाट पनि  पहिलो उडान सुरु भएसँगै यात्रुले सेवा प्राप्त गरेका छन् ।

पूर्ण चुडाल, आन्तरिक टर्मिनल व्यवस्थापक,त्रिभूवन विमानस्थल

काठमाडौंबाट उडान गरेर मोसफलको यात्रु लिएर आउनु पर्ने अवस्था थियो पछिल्लो समय मोसफलमा पार्किङ गर्नुपर्ने व्यवस्था गरिएसँगै त्यहाँका विमानस्थलमा थप चहलपहल बढेको भने काठमाडौंमा व्यवस्थापन सहज भएको छ ।

दैनिक औसतमा १५ हजार यात्रुको आवतजावत हुने त्रिभूवन विमानस्थलको आन्तरिक टर्मिनलको व्यवस्थापन गर्दै आएका पूर्ण चुडाल मोफसलबाट पनि दैनिक पहिलो उडान गर्न सुरु गरेसँगै उडानको प्रभावकारिता बढेको बताउछन् ।

‘काठमाडौंबाट उडान गरेर मोसफलको यात्रु लिएर आउनु पर्ने अवस्था थियो । पछिल्लो समय मोसफलमा पार्किङ गर्नुपर्ने व्यवस्था गरिएसँगै त्यहाँका विमानस्थलमा थप चहलपहल बढेको भएर काठमाडौंमा व्यवस्थापन सहज भएको छ,’ चुडाल भन्छन् ।

यात्रुले सेवाप्राप्त गर्न निजीक्षेत्रको प्रवेशले अझ थप सहज भएको अध्यक्ष मित्तलको पनि भनाई छ । हेलिकप्टरदेखि विमानसँगको पहँचका लागि निजी क्षेत्रको प्रवेशले सहयोग गरेको उनी बताउँछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजन पोखरेलले निजी क्षेत्रको प्रवेशले नेपालमा हवाई क्षेत्र गुणस्तरीय र प्रतिस्पर्धी रूपमा विकास हुर्दै गएको बताए ।

सिमित साधन र स्रोतका वाबजुद नेपाल वायुसेवा निगमको प्रतिस्पर्धात्मक क्षमता बढ्नुका साथै  नेपाल नागरिक उड्डयन प्राधिकरणको विस्तार तथा आयमा बृद्दि भइ विमानस्थलको पूर्वाधार निर्माणमा ठूलो याेगदान पुग्दै आएको उल्लेख गर्छन् ।

निजी क्षेत्रको प्रवेशले रोजगारी वृद्धि, राजश्वमा वृद्धि,आवतजावतमा सहजता ल्याएको छ 

राजन पोखरेल, पूर्व महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

मेचीदेखि महाकाली सम्मका यात्रुले सेवा प्राप्त गरेका छन् । नेपालको दुर्गम क्षेत्रमा हवाई मार्गको पहुँच पुगेका कारण स्वाथ्य र सामान ढूवानी तथा आवतजावत सहज भएको छ । प्रतिस्पर्धा वृद्धि भएसँगै यात्रुको पहुँच बृद्धि भएको छ । ‘निजी क्षेत्रको प्रवेशले रोजगारी वृद्धि, राजश्वमा वृद्धि , आवतजावतमा सहजता ल्याएको छ,’ पोखरेल भन्छन् ।

नेपालले हाल सम्मको ४० देशसँग दुई पक्षिय हवाई सेवा सम्झौता (एयर सर्भिस एग्रमीमेन्ट) गरेको छ । नेपालले खुल्ला आकाश नीति अनुसार सन् १९९७ मा अष्ट्रियासँग र पछिल्लो समय सन् २०१९ मा अष्ट्रेलियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको छ ।

जसरी २०५० मा ल्याइएको हवाई नीतिले देशमा उड्ययन क्षेत्रमा ठूलो फड्को मार्न योगदान दियो त्यसरी नै यस क्षेत्रलाई थप गतिशील बनाउन यस नीतिले परिकल्पना गरेका व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन अपरिहार्य देखिएको छ ।

आन्तरिकमा उडान भरिरहेका वायूयान कम्पनीहरु

हवाई

बुद्ध एयर, सिम्रिक एयर, नेपाल वायुसेवा निगम,  श्रीएयरलाइन्स, गुण एयरलान्स, तारा एयर, सीता एयर, सुमित एयर, यति एयरलान्स, सौर्य एयरलान्स,

हेकिप्टर
एयर डाइनेप्टि, एल्टिच्यिूट, फिस्टल, माउन्टेन, मनास्लु, प्रभू, श्री एयरलान्स, सिम्रक एयर, हेलि एभरेष्ट, कैलास हेली, मनाङ एयर

स्रोतः नागरिक उड्यन प्राधिकरण


Read Previous

अष्ट्रेलियासँग जलस्रोत व्यवस्थापनमा सहकार्य गर्न समझदारी

Read Next

वन क्षेत्रमा पर्ने आयोजनालाई सहजीकरण गरिदिन वन मन्त्रीसँग इप्पानको ११ बुँदे माग

Leave a Reply

Your email address will not be published.