Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

जलविद्युत आयोजनाबाट २ अर्ब ८३ करोड रुपैयाँ रोयल्टी उठ्याे


काठमाडौं । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत आयोजनाले २ अर्ब ८३ करोड रुपैयाँ बढी रोयल्टी सरकारलाई बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका २० सहित सञ्चालनामा रहेका १०२ जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीले जडित क्षमता र विद्युत बिक्री बापतको गरी यति रोयल्टी तिरेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार २ अर्ब ८३ करोड ३१ लाख ४२ हजार रुपैयाँ रोयल्टी रकम जलविद्युतबाट संकलन भएको विद्युत विकास विभागले हालै सार्वजनिक गरेको २९औं वार्षिकोत्सव स्मारिका–२०७९ मा उल्लेख छ । विभागका अनुसार २ अर्ब २८ करोड ९७ लाख २८ हजार रुपैयाँ जलविद्युत आयोजनाको विद्युत बिक्री बापत संकलन भएको रोयल्टी रकम हो ।

५४ करोड ३४ लाख १४ हजार रुपैयाँ सञ्चालनमा रहेका जलविद्युत आयोजनाको जडित क्षमताको रोयल्टी रकम रहेको विभागले जनाएको छ । विद्युत प्राधिकरणले ५ सय ७५ मेगावाटका २० जलविद्युत आयोजनाको १ अर्ब ५५ करोड ६० लाख ५४ हजार रुपैयाँ रोयल्टी बुझाएको छ ।

प्राधिकरणले बुझाएको यो जडित क्षमता र विद्युत बिक्री बापतको रोयल्टी रकम हो । जसमा विद्युत बिक्री बापतको १ अर्ब १३ करोड ८२ लाख ७२ हजार रुपैयाँ छ । ४१ करोड ७७ लाख ८२ हजार रुपैयाँ रोयल्टी जडित क्षमता बापतको हो । प्राधिकरण अन्तर्गतकाे १४४ मेगावाटकाे कालीगण्डकी ए ले ५९ कराेड १४ लाख २९ हजार रुपैयाँ राेयल्टी तिरेकाे छ ।

यस्तै, ४५ मेगावाटको माथिल्लो भोटेकोसीको प्रवद्र्धक भोटेकोसी पावर कम्पनीले ३५ करोड २८ लाख २९ हजार रुपैयाँ तिरेको छ । जसमा ४ करोड ५० लाख रुपैयाँ जडित क्षमता बापतको र ३० करोड ७८ लाख २९ हजार रुपैयाँ विद्युत बिक्री बापतको हो ।

६० मेगावाटको खिम्ती–१ ले ३३ करोड ९८ लाख ५ हजार रुपैयाँ रोयल्टी सरकारलाई बुझाएको छ । ३० करोड ४३ लाख ९२ हजार विद्युत बिक्री गरे बापतको र ३ करोड ५४ लाख १२ हजार रुपैयाँ जडित क्षमता बापतको रोयल्टी भएको विभागले जनाएको छ ।

विद्युत प्राधिकरणको सहायक चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको २२ मेगावाटको चिलिमे आयोजनाको १३ करोड ३७ लाख ५३ हजार रुपैयाँ रोयल्टी उठेको छ । चिलिमेले ११ करोड १६ लाख ५३ हजार रुपैयाँ विद्युत बिक्री गरे बापत र २ करोड २१ लाख रुपैयाँ जडित क्षमताका लागि रोयल्टी रकम बुझाएको हो ।

बुटवल पावर कम्पनीले आँधी खोला र झिमरुक आयोजना सञ्चालन गरे बापत ९ करोड २९ लाख ८ हजार रोयल्टी बुझाएको छ । लाफिङ बुद्ध पावर नेपालले ३ वटा जलविद्युत आयोजनाको ३६ लाख ७७ हजार रुपैयाँ रोयल्टी तिरेको विभागको तथ्यांकमा उल्लेख छ ।

हिमाल दोलखा हाइड्रो पावर कम्पनीले साढे १२ मेगावाटका २ जलविद्युत आयोजना सञ्चालन गरे बापत ७९ लाख ४० हजार रुपैयाँ तिरेको छ । सानिमा माई हाइड्रो पावर कम्पनीले २९ मेगावाटका २ जलविद्युत आयोजनाबाट १ करोड ८७ लाख २५ हजार रुपैयाँ रोयल्टी रकम तिरेको छ ।

अपि पावर कम्पनीले साढे १६ मेगावाटका २ जलविद्युत आयोजना सञ्चालन बापत २ करोड ७ लाख ८१ हजार रुपैयाँ तिरेको छ । पञ्चकन्या माईले १८.१ मेगावाटका २ जलविद्युत आयोजनाबाट १ करोड ७ लाख ६२ हजार रुपैयाँ रोयल्टी सरकारलाई तिरेको छ । बिन्दबासिनी हाइड्रो पावरले रुदी ‘ए’ र रुदी खोला ‘बी’ आयोजनाको ६१ लाख १८ हजार रुपैयाँ रोयल्टी बुझाएको विभागले जनाएको छ ।

आर्थिक वर्षमा २०७७/७८ मा सञ्चालनमा रहेका केही जलविद्युत आयोजनाले रोयल्टी रकम बुझाएका छैनन् । यो वर्ष सञ्चालनमा रहेका जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीबाट २४ करोड ८७ लाख ६ हजार रुपैयाँ रोयल्टी रकम अझै उठ्न बाँकी देखिएको महालेखा परीक्षकको कार्यालयले गत असार २९ गते सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा जनाइएको थियो ।

यो वर्ष ३ अर्ब ७ करोड ५५ लाख ७४ हजार रुपैयाँ रोयल्टी संकलन हुनुपर्नेमा थियो । तर, केही जलविद्युत आयोजनाका प्रवद्र्धकले नबुझाउँदा तथा बुझाउनेले पनि सबै नबुझाउँदा रोयल्टी बक्यौता बाँकी देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा प्रसारण प्रणालीमा जोडिएका जलविद्युत आयोजनाले तिरेको रोयल्टी रकम विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा समावेश छैन ।

विद्युत ऐन २०४९ को दफा ११ मा भएको व्यवस्था बमोजिम अनुमति प्राप्त जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको १५ वर्षसम्म जडित क्षमताको प्रतिकिलोवाट १ सय रुपैयाँ र प्रतियुनिट (किलोवाट घन्टा) सरदर बिक्री मूल्यको २ प्रतिशतका दरले सरकारलाई रोयल्टी बुझाउनु पर्छ ।

अहिले सरकारलाई रोयल्टी रकम तिर्ने विद्युत आयोजनाको संख्या १३३ पुगिसकेको छ । विद्युत उत्पादन अवधिको १५ वर्ष पूरा भइसकेपछि जलविद्युत आयोजनाले प्रतिजडित किलोवाट वार्षिक १ हजार रुपैयाँ र प्रतियुनिट (किलोवाट घन्टा) औसत बिक्री मूल्यको १० प्रतिशत रोयल्टी रकम सरकारलाई बुझाउनु पर्ने व्यवस्था छ ।

रोयल्टी बापत उठेको रकम केन्द्र सरकार, जलविद्युत आयोजनाको सम्बन्धित जिल्ला तथा स्थानीय तहमा वितरण हुने गर्दछ । स्थानीय स्तरमा जलविद्युत आयोजना निर्माण हुँदा स्थानीयबासी तथा सम्बन्धित जिल्लाको विकासमा योगदान पुग्ने गर्दछ ।


Read Previous

भारतले सौर्य विद्युतको जडित क्षमता साढे ५७ हजार मेगावाट पुर्यायो

Read Next

एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि अस्पतालमा निफ्रा र नबिल बैंकको लगानी

Leave a Reply

Your email address will not be published.