Nepal Purbadhar

कालीगण्डकीको बाढीले बगायो रातोपानीको तातोपानी कुण्ड, एक करोडको संरचना ध्वस्त


असोज। कालीगण्डकी नदीमा आएको बाढी र कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत भएको छ। बाढीले कुण्डका संरचना बगाउँदा संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब १ करोड रुपैयाँ बराबरको लगानी नष्ट भएको छ।

असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले कुण्डको पोखरी, पक्की पर्खाल, टहरा, विश्रामस्थल र शौचालयलगायत संरचना बगाएको वडाध्यक्ष रामबहादुर खड्काले बताए। उनका अनुसार कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहान पुरानो स्थानभन्दा करिब ३० मिटर तल सरेको छ।

गाउँपालिकाले नौ वर्षदेखि तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लगानी गर्दै आएको थियो। प्राकृतिक तातोपानीमा स्नान गर्न पर्यटक तथा विभिन्न स्वास्थ्य समस्याबाट पीडित मानिस आउने गरेका थिए।

कुण्डमा पर्यटकको आगमन बढेसँगै रातोपानी, पोखरेबगर र ठूलोबगर क्षेत्रका होटल तथा स्थानीय व्यवसायले समेत लाभ लिँदै आएका थिए। बाढीले संरचना नष्ट गरेपछि स्थानीयको रोजगारी र आयआर्जनमा समेत असर परेको छ।

बेनी-जोमसोम सडकको छेउमा रहेको उक्त मुहानबाट प्रतिसेकेन्ड ११ लिटरका दरले ५६ डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्थ्यो। त्यहाँ एकपटकमा ४० देखि ५० जनाले स्नान गर्न सक्ने पोखरी निर्माण गरिएको थियो।

बाढीले पुरानो स्थानमा कुण्ड पुनर्निर्माण गर्न कठिन बनाएकाले मुहानको पानी अन्यत्र लगेर स्नानस्थल निर्माण गर्ने विकल्पमा छलफल भइरहेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए।


Read Previous

भोटेकोशी-त्रिशूली बाढीले क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

Read Next

पोखरा विमानस्थलमा ‘आरएनपी-एआर’ प्रणाली लागू हुँदै, कम भिजिविलिटीमा पनि उडान हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar