
काठमाडौं । चाडपर्वको समयमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट चिनी, नुन, तेल, दाल, चामललगायत खाद्यवस्तु बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न पाइने भएको छ।

नेपाल सरकारको निर्देशनअनुसार असोज १ गतेदेखि कात्तिक मसान्तसम्म सुपथ मूल्य पसल सञ्चालन गरिने साल्ट ट्रेडिङ कर्पोरेसनका प्रबन्धक प्रज्वलमान प्रधानले जानकारी दिए। चाडपर्वका बेला उपभोक्तालाई सहज र सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको उनले बताए।
कर्पोरेसनले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा र धुलिखेललगायत स्थानमा आफ्ना बिक्री कक्षमार्फत १३ ओटा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। यसबाहेक देशका विभिन्न २५ स्थानमा रहेका कार्यालयबाट समेत सहुलियत मूल्यमा खाद्यवस्तु बिक्री भइरहेको प्रधानले जानकारी दिए।

सुपथ मूल्य पसलमा चामल, तेल, दाल, चिनी, नुन, मरिच, मसला, चियापत्ती, चिउरा, आँटा, मैदा र पिठोलगायत दैनिक उपभोग्य सामग्री उपलब्ध छन्।
सरकारले तोकेको छुटअनुसार बजारमा प्रतिकिलो १०५ रुपैयाँ पर्ने चिनी सुपथ मूल्य पसलमा १०० रुपैयाँमा पाइन्छ। त्यस्तै, बजारमा प्रतिकिलो २६ रुपैयाँ पर्ने नुन २४ रुपैयाँमा बिक्री भइरहेको छ।
दाल, तेल, चिउरा, आँटा, मैदा र पिठोलगायत सामग्रीमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ। चामलमा प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म तथा मरिच, मसला र चियापत्तीमा ५ देखि १० रुपैयाँसम्म छुट उपलब्ध गराइएको प्रधानले बताए। अन्य सामग्रीमा पनि वस्तुअनुसार १० देखि १५ रुपैयाँसम्म छुट दिएर बिक्री भइरहेको उनले जानकारी दिए।

ग्यास वितरणमा पनि सहजता
यसैबीच, पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको उपलब्धतामा देखिएको असहजता कम हुँदै गएको कर्पोरेसनले जनाएको छ। सुपथ मूल्य पसलबाट ग्यास बिक्री सुरू भएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन थालेका छन्।
यसअघि टोकन प्रणालीमार्फत वितरण गरिँदै आएको ग्यास अहिले सिलिन्डर लिएर आउने उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन थालिएको प्रधानले बताए।
उनले चाडपर्वका लागि आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहुलियत मूल्यमा खरिद गर्न साल्ट ट्रेडिङका विभिन्न बिक्री केन्द्रमा पुग्न आम उपभोक्तालाई आग्रह गरेका छन्।


