Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

हरित हाइड्रोजन उत्पादन गर्न अपि पावर र ग्रिनजोबीच समझदारी,३ वर्षमा १० अर्ब लगानीको लक्ष्य


काठमाडौं । नेपालमा ५० मेगावाटका विभिन्न हरित हाइड्रोजन प्लान्ट स्थापना गर्न अपि पावर र भारतको ग्रिनजो इनर्जी कम्पनीबीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा देशका विभिन्न स्थानमा सन् २०२५ भित्र ५० मेगावाट विद्युत खपत हुने हरित हाइड्रोजन प्लान्ट स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा अपि पावर कम्पनीका अध्यक्ष सतिस न्यौपाने र ग्रिनजो इनर्जी कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रेया अग्रवालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार अबको ३ वर्षभित्रमा विभिन्न जिल्लामा सञ्चालित जलविद्युत केन्द्रको टेलरेसबाट निस्कने पानीको उपयोग गरी ५० मेगावाट विद्युत खपत हुने हरित हाइड्रोजन प्लान्ट स्थापना गरिनेछ ।

समझदारी अनुसार पहिलो पटक दार्चुलास्थित साढे ८ मेगावाटको नौगाढ जलविद्युत केन्द्रको विद्युतगृहबाट निस्कने पानीको उपयोग हुने गरी १ मेगावाटको हरित हाइड्रोजन प्लान्ट स्थापना गरिनेछ । यसलाई नमूना हरित हाइड्रोजन प्लान्टकोरूपमा स्थापना गर्न लागिएको हो ।

देशमै उत्पादन भएको नवीकरणीय ऊर्जाको उपयोग गरी हरित हाइड्रोजन प्लान्ट स्थापना गर्न निजी क्षेत्र पहिलो पटक लगानीका लागि अग्रसर देखिएको हो । जलविद्युत क्षेत्रमा २५ वर्षदेखि सक्रिय ऊर्जा उद्यमी एवं अपि पावर कम्पनीका संस्थापक  गुरूप्रसाद न्यौपानेले  हरित हाइड्रोजन प्लान्ट स्थापना गर्न लगानीका लागि ग्रिनजोसँग सहकार्य गर्न लागेको बताए ।

‘राष्ट्र बैंकबाट अवकास लिएर विगत साढे २ दशकदेखि निरन्तर ऊर्जा क्षेत्रको विकासमा सक्रिय भएर काम गरिरहेको छु । जलविद्युत र सौर्य ऊर्जापछि अब हरित हाइड्रोजन प्लान्टमा लगानीका लागि अगाडि आएको छु,’ उनले भने, ‘ग्रिनजोसँगको सहकार्य सफल हुन्छ भन्नेमा म विश्वस्त छु ।’

उनले काठमाडौं विश्व विद्यालयले हरित हाइड्रोजन उत्पादनको सम्भाव्यताबारे अध्ययन गरेको भए पनि लगानीका लागि निजी क्षेत्र नै अगाडि आउनु पर्ने बताए । उनले नेपालमा जलविद्युत र सौर्य ऊर्जामा जस्तै सम्भावना रहेकाले भविश्यमा वायु ऊर्जामा पनि लगानी गर्न इच्छुक रहेको बताए ।

उनले अहिलेसम्म निर्माण सम्पन्न भइसकेका करिब १ दर्जन जलविद्युत केन्द्रका विद्युतगृहको रुफटपमा सौर्य ऊर्जा प्रविधिबाट विद्युत उत्पादन गरी ग्रिडमा दिन सकिने हुँदा त्यसबारेमा अध्ययन गर्न लागेको बताए । ‘प्रत्येक विद्युतगृहमा १ मेगावाटसम्मको रुफटप सोलार प्लान्ट राख्न सकिने सम्भावना देखिन्छ । प्रसारण लाइनको समस्या नहुँने हुँदा रुफटप सोलारमा पनि लगानी गर्न हामी तयार छौं’ उनले भने ।

अपि पावर कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौपानेले ५० मेगावाटका हरित हाइड्रोजन प्लान्ट स्थापना गर्न करिब १० अर्ब रुपैयाँ लगानी गर्न लागेको  बताए । उनले यी हरित हाइड्रोजन प्लान्टबाट वार्षिक ४ हजार टन हाइड्रोजन उत्पादन गर्न सकिने जानकारी दिए ।

‘जलविद्युत र सौर्य विद्युत उत्पादनमा पनि हामी नै अग्रसर भएर सबैभन्दा पहिले लगानीका लागि आएका थियौं’,उनले भने,‘अहिले आयातित पेट्रोलिम प्रतिस्थापन गर्न हरित हाइड्रोजनलाई उत्तम विकल्प मानिएकाले यो क्षेत्रमा पनि लगानीको जोखिम उठाउन लागेका छौं ।’

ग्रिनजो इनर्जी कम्पनीका अध्यक्ष सन्दिप अग्रवालले अबको आवश्यकता नवीकरणीय ऊर्जा भएको हुँदा नेपालमा हरित हाइड्रोजन प्लान्ट स्थापनाका लागि अपि पावरसँग सहकार्य गर्न लागेको बताए । अपि पावरसँगको सहकार्यमा अहिले सौर्य विद्युत आयोजना तोकिएको समयभित्रै निर्माण सम्पन्न गरे जस्तै हरित हाइड्रोजन प्लान्ट पनि स्थापना गरेर देखाउने बताए ।

‘अपि पावरसँग पहिलो पटक सौर्य विद्युत आयोजना निर्माणका लागि सहकार्य गर्न हामी जोडिएका थियौं’, उनले भने, ‘यो सहकार्य अब निरन्तर अगाडि जानेछ ।’ पछिल्लो केही वर्षमा नेपालले ऊर्जा क्षेत्रमा विश्व बजारमा आएका नयाँ प्रविधिलाई चाँडै अपनाएको हुँदा धेरै अगाडि जाने सम्भावना देखिएको पनि अग्रवालले बताए ।

ग्रिनजोकी सिइओ श्रेया अग्रवालले अपि पावरसँग भएको समझदारी अनुसार सन् २०२३ भित्र दार्चुलामा १ मेगावाटको नमूना हरित हाइड्रोजन प्लान्ट स्थापना गरिसक्ने लक्ष्य रहेको बताइन् । ग्रिनजो इनर्जीले भारतमा २५० मेगावाट विद्युत खपत हुने हरित इलेक्ट्रोलाइजर उत्पादन गर्ने उद्योगमा पनि लगानी गर्दैछ । सन् २०२५ सम्ममा ४ सय करोड भारु लगानी गर्ने कम्पनीको लक्ष्य छ ।


Read Previous

२८ वर्षमा ८ हजार ७५ मेगावाट विद्युत उत्पादन अनुमतिपत्र जारी

Read Next

‘स्वार्थका लागि पूर्वाधार आयोजनालाई भड्काउने राजनीतिक प्रवृत्तिको अन्त्य हुनुपर्छ’

Leave a Reply

Your email address will not be published.