
फाइल तस्बिर।
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्ड आज तीन घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।
मझिमटारमा निर्माणाधीन आकाशे पुलमा यात्रु आवागमन गर्ने भागको गर्डर राख्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको हो।
नागढुङ्गा-मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार गर्डर राख्ने काम सुरक्षित रूपमा सम्पन्न गर्न उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्न लागिएको हो।
सडक बन्द रहने अवधिमा यात्रु तथा सवारी चालकलाई धैर्यपूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न र ट्राफिक नियम पालना गर्न आयोजनाले अनुरोध गरेको छ।
सडक बन्दका कारण यात्रामा पर्न सक्ने असुविधाप्रति आयोजनाले क्षमासमेत मागेको छ।

