
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन ओटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक एक दिनपछि पुनः सञ्चालनमा आएको छ । शुक्रबार राति पहिरो खसेर अवरुद्ध भएको सडक शनिबार दिउँसोदेखि सञ्चालनमा आएको हो ।
बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा पहिरो खसेपछि २४ किलोमिटर दूरीको सडकमा सिधा यातायात सेवा बन्द भएको थियो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले ब्याकुहोलोडर परिचालन गरी पहिरो पन्छाएपछि सवारीसाधन सञ्चालन हुन थालेका हुन् । पहिरो हटाउने जिम्मेवारी पाएको मङ्गला कन्स्ट्रक्सनका प्रतिनिधि चक्रलाल पाण्डेका अनुसार तत्कालका लागि सडक मर्मत गरेर यातायात सञ्चालन गरिए पनि निरन्तर पहिरो खस्ने जोखिम कायमै छ ।
उनले फापरखेतमा जुनसुकै समयमा पुनः पहिरो खसेर आवागमन अवरुद्ध हुन सक्ने बताए ।
बेनी-दरवाङ सडक म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग हो । यी तीनै स्थानीय तहका बासिन्दाका लागि यो सडकलाई लाइफलाइनका रूपमा लिइन्छ ।
फापरखेतमा विसं २०५८ मा सडकको मार्ग खोल्नुअघिदेखि नै पहिरो नियन्त्रणका प्रयास हुँदै आए पनि सफल हुन सकेका छैनन् । पछिल्लो समय पहिलेदेखि पहिरो खस्ने गरेको स्थानभन्दा फरक ठाउँमा पहाडको ढिस्को चर्किएर पहिरो झर्न थालेपछि सडक थप जोखिमपूर्ण बनेको छ ।







