
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरू गरेको छ। करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने १२ तले भवनको शुक्रबार भूमिपूजा गरी निर्माण कार्य औपचारिक रूपमा अघि बढाइएको हो।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले निर्माणस्थलमा आयोजित समारोहमा भूमिपूजा गरेका थिए।
भवनमा गाडी पार्किङका लागि २ तला भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि ९ ओटा तला रहनेछन्। वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर भवन निर्माण गर्न लागिएको बैंकले जनाएको छ।

भूमिपूजापछि अध्यक्ष ढकालले नयाँ भवन वाणिज्य बैंकका कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचनामध्ये एक हुने बताए। उनका अनुसार भवन निर्माण सम्पन्न भएपछि सेवाग्राहीले बैंकिङ सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी रूपमा प्राप्त गर्न सक्नेछन्।
प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही र कर्मचारीको सुविधालाई ध्यानमा राखेर भवनको डिजाइन तथा संरचना तयार गरिएको बताए। भवनमा ऊर्जा बचत गर्ने प्रविधि, आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा जडान गरिने उनले जानकारी दिए।
प्राकृतिक स्रोतको उचित उपयोग र वातावरणीय सन्तुलनलाई प्राथमिकता दिँदै भवन निर्माण गर्न लागिएको बैंकले जनाएको छ। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूह तथा कर्मचारीको उपस्थिति थियो।

