Nepal Purbadhar

जनमतले दम्भ बढाएको भन्दै रास्वपाभित्रै आत्मसमीक्षा गर्न सभापति लामिछानेको आग्रह


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले प्राप्त गरेको १८२ सिटको जनमतलाई लिएर नेता तथा कार्यकर्तामा दम्भ बढेको भन्दै आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। उनले जनताको मतलाई शक्तिको प्रदर्शन नभई थप जिम्मेवारी र सेवाको अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

चितवनमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताले सर्वसाधारणलाई बेवास्ता गर्ने, प्रशासन र प्रहरीमाथि राजनीतिक दबाब दिने तथा पद र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति देखाउन थालेको बताए।

उनले पार्टीभित्रै निर्वाचित भएका र अवसर नपाएका साथीहरूबीच असन्तुष्टि तथा ईर्ष्याको भावना बढेको उल्लेख गर्दै संगठनात्मक एकता कायम गर्नुपर्नेमा जोड दिए। सँगै संघर्ष गरेका साथीले प्रगति गर्दा खुसी हुन र पद नपाउँदा पार्टीविरुद्ध नलाग्न उनले आग्रह गरे।

लामिछानेले राजनीतिलाई एउटा चुनाव जित्ने उद्देश्यमा मात्र सीमित गर्न नहुने बताए। पार्टीले स्थानीय तहको उम्मेदवार छनोटका लागि अपनाएको ‘क्यान्डिडेट क्लब’ विधि पारदर्शी र विधिसम्मत रहेको उल्लेख गर्दै त्यसको निर्णय स्वीकार गर्नुपर्ने उनको भनाइ थियो।

उनले टिकट नपाए पनि पार्टीकै अर्को उम्मेदवारलाई सहयोग गर्नुपर्ने भन्दै चुनाव हार्दैमा राजनीति नहारिने बताए। राजनीतिक निष्ठा र प्रतिबद्धता कायम राख्न नसक्ने व्यक्ति राजनीतिमा लाग्नुको अर्थ नरहने उनको धारणा थियो।

पार्टीले पर्याप्त प्रशिक्षण र संगठन निर्माणको काम गर्न नसकेको स्वीकार गर्दै उनले निर्वाचनअघि छुटेका राजनीतिक प्रशिक्षण र संगठनात्मक अभ्यास पूरा गर्नुपर्ने आवश्यकता औँल्याए। जनताले दिएको ठूलो जनमतलाई जिम्मेवारीपूर्वक उपयोग गर्न नसके त्यसले पार्टीलाई नै असर गर्ने उनको चेतावनी थियो।


Read Previous

आधा दर्जनबढी ठूला सरकारी लगानी भएका हाइड्रो र सोलारको पीपीए हुने, दोस्रो चरणमा निजी क्षेत्रको

Read Next

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar