
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरकारी लगानी भएका आधा दर्जनबढी ठूला जलविद्युत् र सोलारका आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) गर्ने भएको छ ।
ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले पीपीए सम्बन्धी तयार भएको प्रतिवेदनमा छलफल गरेर पीपीए अघि बढाउन निर्देशन दिएका हुन् । ऊर्जा मन्त्रालयका एक इन्जिनियरका अनुसार पहिलो चरणमा सरकारी र दोस्रो चरणमा निजी परियोजनाहरुको पीपीए गर्न लागिएको हो । चैनपुर सेती,बेतन कर्णाली,किमाथाङका अरुण, सिम्बुवाजगदुल्ला ए,लगायतका हाइड्रोपावरको पीपीए गर्न लागिएको छ ।
चैनपुर सेती नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीले प्रवर्धन गर्न लागेको आयोजना हो । २१० मेगावाट जडित क्षमताको यो आयोजना चैनपुरसेती हाइड्रोपावर कम्पनी लिमिटेड हो । सुदूरपश्चिम प्रदेशको गेम चेन्जर आयोजनाको रुपमा हेरिएको चैनपुर सेती जलविद्युत परियोजना निर्माणका लागि करिब ४५ अर्ब लागत अनुमान गरिएको छ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना अर्ध जलायशययुक्त हुने छ ।

४३९ मेगावाट क्षमताको यो आयोजना बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्धन गर्न लागेको छ । करिब ९३ अर्ब ४० करोड रुपैयाँ निर्माण लागत छ । कर्णाली नदी, सुर्खेत र अछाम जिल्लाको सिमानामा निर्माण हुनेछ । कर्मचारी सञ्चयकोषको लगानीमा आयोजना बनाउन लागिएको छ।
विद्युत उत्पादन कम्पनीले किमाथांका अरुण जलविद्युत आयोजना प्रवर्धन गर्न लागेको छ । ९८ अर्ब लागत अनुमानको आयोजना निर्माण सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले गर्ने, साढे ६८ अर्ब ऋण र सवा २९ अर्ब स्वपुँजीबाट जुटाउने गरी मोडालिटी तय गरिएको छ ।
संखुवासभाको भोटकोला गाउँपालिका– २ मा पहिचान गरिएको किमाथांका अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कुल लागत अनुमान ९७ अर्ब ९४ करोड रहेको छ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात् ६८ अर्ब ५५ करोड ऋणबाट र ३० प्रतिशत अर्थात् २९ अर्ब ३८ करोड स्वपुँजी (इक्विटी)बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू र बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ऋण लिने प्रस्ताव गरिएको छ । इक्विटीबाट प्राप्त हुने रकम कम्पनीका संस्थापक र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अति विपन्न परिवारका सदस्य र सर्वसाधारणलाई सेयर निष्कासन गरी संकलन गरिनेछ ।
जगदुल्ला हाइड्रोपावरले प्रवर्धन गर्न लागेको जगदुल्ला ए १२० मेगावाटको आयोजना हो । यो आयोजना डोल्पा जिल्लामा पर्दछ र यसले कर्णालीको ऊर्जा विकासमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

आयोजना विस्तृत अध्ययन पूरा भइसकेको छ । प्रस्तावित आयोजना डोल्पाको मुड्केचुला र जाजरकोटको नलगाड नगरपालिकामा पर्दछ । मुड्केचुला १,२,३,र ४ तथा नलगाड-१३मुख्य प्रभावित क्षेत्र हुन् ।
आयोजना अर्ध-जलाशययुक्त जलविद्युत आयोजनाको सेमी क्यासकेड परियोजनाका रुपमा निर्माण गर्न लागिएको छ।
यसका लागि मुड्केचुल-४ स्थित इलमा रहेको जगदुल्ला जलविद्युत आयोजनाको टेलरेस सुरुङबाट निस्केको पानी जगदुल्ला-ए जलविद्युत आयोजनाको हेडरेस सुरुङले प्रयोग गर्न प्रस्ताव गरिएको छ।

जगदुल्ला-ए जलविद्युत आयोजनाका लागि ७.१ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। क्यासकेड आयोजना रहेका कारण हेडवर्क्स बनाइरहनुपर्दैन। सोही कारण जगदुल्ला जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्स बनाएर सुरुङमार्गमार्फत त्रिवेणी भन्ने ठाउँमा पुऱ्याएर विद्युत उत्पादन हुनेछ । त्रिवेणीमा आयोजनाको पावर हाउस रहनेछ।
आयोजना १ वर्षमा पूर्व तयारी सकेर ४ वर्षमा व्यवसायिक विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ। ६ घण्टासम्म पिकिङ क्षमता रहेको आयोजनाबाट वार्षिक करिब ६१५.३२ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ।
३० मेगावाटको सोलारको पीपीए हुँदै
सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले ३० मेगावाटको डुल्लु-मालिका सोलार आयोजना निर्माण गर्ने तयारी गरेको छ।
ठूला प्रकृतिका जलविद्युत् आयोजनाहरु निर्माण गर्ने उदेश्यले स्थापना भएको कम्पनीले सोलार आयोजना निर्माण गर्न लागेको हो । आधा दर्जनबढी ठूला ठूला जलाशयदेखि आरओआर प्रकृतिका आयोजनाको अध्ययन गरिरहेको कम्पनीले सोलारको आयोजना निर्माण गर्न लागेको हो ।
कम्पनीले यो सोलारको आयोजना र १३२ केभी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अध्ययन तयारीका लागि परामर्श सेवाको जिम्मा एनईए इन्जिनियरिङ कम्पनीलाई दिएको छ ।
कम्पनीले यो आयोजनाको सर्भे गरिसकेको छ । जसबाट आयोजना फिजिवलदेखि भएपछि विस्तृत अध्ययन गर्न लागिएको हो ।
विस्तृत अध्ययन गर्नु अघि कम्पनीले प्रमोटरहरुसंग बैठक समेत राखेको थियो । प्रमोटरहरुले आयोजनाको काम अघि बढाउन सहमति दिएपछि कम्पनीले अध्ययनका लागि परामर्शदाता छनोट गरेको हो । कम्पनीले जिटुजी मोडलमा परामर्शदाता छनोट गरेको हो । केहि कम्पनीसंग प्रस्ताव मागिएको थियो,सबैभन्दा कबोल गर्ने एनईए इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको हो ।

प्रस्तावित आयोजना दैलेखको दुल्लु नगरपालिका-१३ मा निर्माण हुनेछ ।
विद्यालयको जग्गा लिजमा लिएर बनाउन खोजिएको हो । आयोजनाका लागि ६०० रोपनी जग्गा आवश्यक पर्छ ।। प्रस्तावित आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणको चुप्रा सबस्टेसनमा जोडिनेछ । आयोजनाका लागि १३२ केभीको ५.५ किमी प्रसारणलाइन निर्माण गर्नुपर्नेछ ।
आयोजनाले वार्षिक ४७.५७५ गिगावाट ऊर्जा उत्पादन गर्छ ।
आयोजनाको आइआरआर १३.५३ प्रतिशत छ । आरओई १७.१६ प्रतिशत छ । विद्युत उत्पादन कम्पनीको ७० प्रतिशत इक्विटी रहनेछ ।
प्रारम्भिक रुपमा १ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
दोस्रो चरणमा निजी आयोजनाको पीपीए गर्न तयारीमा सरकार छ ।

