Nepal Purbadhar

काठमाडौं-तराई फास्ट ट्रयाकका लागि ३० अर्ब बजेट प्रस्ताव


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष (२०७९/८०) का लागि राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौं–तराई–मधेश फास्ट ट्रयाक आयोजनाका लागि ३० अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ । मन्त्रालयले यो आयोजनालाई प्राथमिकतामा राखी आउने आर्थिक वर्षमा हुने निर्माण कार्यका लागि यति बजेट प्रस्ताव गरेको हो ।

फास्ट ट्रयाकको निर्माण गर्दै आइरहेको नेपाली सेनाले भने आगामी आवमा ४८ अर्ब रुपैयाँ बजेटको माग गर्दै आइरहेको छ । भौतिक पूर्वाधार मन्त्रालयले आगामी बजेटमा ३० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गर्न बजेट प्रस्ताव गरेको उपसचिव शुभराज न्यौपानेले बताए ।

‘स्रोत सुनिश्चित हुने गरी फाष्ट ट्र्याकका लागि बजेट प्रस्ताव गरेका छौं,’ उनले भने, ‘मन्त्रालयले यो बाहेक पूर्वपश्चिम राजमार्गको विस्तार तथ स्तरोन्नति लगायतका आयोजनालाई प्रथामिकतामा राखेर बजेट व्यवस्थापन गर्दैछ ।’ उनले मन्त्रालयले आगामी आवमा नयाँ खालका आयोजना भन्दा पुरानै बहुवर्षिय आयोजनालाई प्रथामिकतामा राखेर बजेट विनियोजन गरिने बताए ।

राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार मन्त्रालयलाई आगामी आवका लागि एक खर्ब ६२ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ सिलिङ दिएको छ । मन्त्रालयले आयोगबाट चालू आवको तुलनामा ६ अर्ब रुपैयाँ बढीको बजेट सिलिङ पाएको हो ।

मन्त्रालयका लागि चालू आवमा एक खर्ब ५६ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ । मन्त्रालयले हालसम्म कूल बजेटको करिब ३९ प्रतिशत मात्रै खर्च गरेको छ । मन्त्रालयले आगामी आवमा सुरुङमार्ग अध्ययनका लागि आवश्यक पर्ने बजेट पनि छुट्टाउने जनाएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा करिव २७ वटा सुरुङमार्ग अध्ययन गर्ने घोषणा गरेको थियो ।


Read Previous

बर्षमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने बेथानचोक गाउँपालिकाको पहिलो निर्णय

Read Next

सञ्चार मन्त्रालयको प्राथमिकतामा खुमलटार ज्ञानपार्क