Nepal Purbadhar

रास्वपाको जिल्ला अधिवेशन : ५६ मा सकियो, १२ मा निर्वाचन जारी, केहिमा विवाद


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ भने १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको छ।

पार्टीले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यक्रम तय गरेको थियो। शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने आइतबार २८ जिल्लामा अधिवेशन सुरु भएकोमा अधिकांश जिल्लामा नयाँ कार्यसमिति चयन भइसकेको रास्वपाले जनाएको छ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटामा अधिवेशन सम्पन्न भइसकेको छ भने उदयपुरमा निर्वाचनको तयारी भइरहेको छ।

मधेस प्रदेशका महोत्तरी, रौतहट, सिरहा, पर्सा र सर्लाहीमा अधिवेशनपछि निर्वाचन प्रक्रिया अघि बढेको छ। सप्तरी र बारामा आज तथा धनुषामा मङ्गलबार अधिवेशन हुने पार्टीले जनाएको छ।

बागमती प्रदेशका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, रसुवा, सिन्धुली, धादिङ, रामेछाप, चितवन र ललितपुरमा अधिवेशन सम्पन्न भइसकेको छ। सिन्धुपाल्चोकमा भने अधिवेशन स्थगित गरिएको छ।

गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ र गोरखामा अधिवेशन सम्पन्न भइसकेका छन् भने बागलुङमा सहमति प्रक्रियामा विवादपछि प्रक्रिया रोकिएको छ। नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा निर्वाचन प्रक्रिया जारी रहेको प्रवक्ता झाले जानकारी दिए।

लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्पा, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, रोल्पा, अर्घाखाँची र रुपन्देहीमा अधिवेशन सम्पन्न भइसकेका छन्।

कर्णाली प्रदेशका कालीकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सकिएको छ भने सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन प्रक्रिया चलिरहेको छ।

सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, दार्चुला, अछाम, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा अधिवेशन सम्पन्न भएको छ भने डोटी र बाजुरामा निर्वाचन प्रक्रिया बाँकी रहेको प्रवक्ता झाले जानकारी दिए।

रास्वपाले जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्ने जनाएको छ। मङ्गलबार बागमती प्रदेशको अधिवेशन हुने कार्यक्रम छ। त्यसपछि तल्ला तहका अधिवेशन सम्पन्न गर्दै पार्टी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवेश गर्ने तयारीमा छ।

पार्टीले यसअघि नै चार हजार २५० वडा र ५१६ पालिकामा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ।


Read Previous

काठमाडौंमा गर्मी बढेसँगै महाबौद्धमा उपभोक्ताको चहलपहल बढ्यो, पङ्खाको माग उच्च

Read Next

प्लास्टिक प्रदूषण नियन्त्रणका लागि क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar