Nepal Purbadhar

खेल पूर्वाधार विस्तार मधेस प्रदेश सरकारको उच्च प्राथमिकतामा


धनुषा। मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले खेल पूर्वाधारको विकासलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखिएको बताएका छन्। उनले प्रदेशमा अन्तरराष्ट्रियस्तरका खेल प्रतियोगिता आयोजना गर्न सक्ने वातावरण निर्माणका लागि रङ्गशाला निर्माणको कामलाई तीव्रता दिइएको जानकारी दिए।

‘निको कप’ राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले खेलकुद युवाको प्रतिभा प्रस्फुटन, अनुशासन विकास तथा सामाजिक रूपान्तरणसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

उनले प्रदेशको महत्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको रामजानकी बहुउद्देश्यीय अन्तरराष्ट्रिय रङ्गशालाको शिलान्यास चालु आर्थिक वर्षभित्र गरिने घोषणा पनि गरे। उक्त आयोजना मधेस प्रदेशको खेलकुद विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उनले खेल पूर्वाधार विस्तारले प्रदेशलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताए।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेलले खेल क्षेत्रको समग्र विकासका लागि सरकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले खेलाडीलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

मधेस खेलकुद परिषद्का उपाध्यक्ष शिवजी गुप्ताले प्रदेशमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले ‘खेली मधेस, जिती मधेस’ अभियान सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार उक्त अभियानअन्तर्गत खेलाडीको वृत्तिविकासलाई प्रोत्साहन गर्न प्रत्येक खेलाडीलाई मासिक दुई हजार ५०० रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ।

कार्यक्रममा नेपाल खेलकुद महासङ्घका अध्यक्ष परशुराम बस्नेत, नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष रोशन सिंह तथा महासचिव धर्म लामालगायतले महिला क्रिकेटको विस्तार, नयाँ खेलाडी उत्पादन तथा खेल पूर्वाधार विकासका लागि सबै सरोकारवाला पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राखे।

आयोजकका अनुसार प्रतियोगितामा सातै प्रदेशका महिला क्रिकेट टोलीसँगै सशस्त्र प्रहरी बल नेपालको टोली गरी आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा भएको थियो।


Read Previous

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar