Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

रुफटपको सौर्य विद्युतकाे नेट मिटरिङ गर्न आवश्यकः विज्ञ


काठमाडौं । रुफटप सौर्य विद्युतलाई नेट मिटरिङ गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि व्यावहारिक रूपमा सफल र सुलभ तुल्याउन विज्ञहरूले सुझाव दिएका छन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) ले बुधबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

उनीहरूले हिउँदको विद्युतको माग र आपूर्तिबीचको खाडल पुर्न सौर्य ऊर्जा र अन्य प्रविधिबाट उत्पादन हुने विद्युत पनि राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिने हुँदा नेट मिटरिङ गर्न आग्रह गरे । मुलुकमा आवश्यक विद्युतको स्रोतकोरूपमा जलविद्युतको उपयोग हुँदै आएकोमा रुफटफ सौर्य विद्युत आयोजनाले उत्पादन गरेको विद्युत नेट मिटरिङ गरी प्रसारण प्रणालीमा जोड्न दिनुपर्नेमा उनीहरूले जोड दिए ।

अहिले ऊर्जाको विभिन्न स्रोतबाट उत्पादन भएको विद्युतको जडित क्षमता २ हजार १ सय ६० मेगावाट छ । बर्खामा जडित क्षमता अनुसार २ हजार १ सय ६० मेगावाट विद्युत उत्पादन हुने भएपनि सुख्खा मौसममा नदीमा पानी निकै कम हुने भएकोले करिब ३० प्रतिशत मात्र विद्युत उत्पादन हुन्छ ।

हिउँदमा देखिने विद्युत माग र आपूर्तिबीच असमानता हटाउनका लागि अन्य स्रोतबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने विकल्प कार्यान्वयनमा ल्याइनु पर्ने उनीहरूको माग छ । उनीहरूले प्रत्येक घरको छानामा सौर्य विद्युतको प्यानल जडान गरी आफैं उपयोग गरेर बढी भएको विद्युत नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमार्फत बिक्री गर्न सकिने भनी केही वर्षअघि भएको निर्णय कार्यान्यनमा ल्याउनमा माग गरेका छन् ।

सोलार रुफटप नेटमिटरिङ्ग भनिने यो प्रविधिलाई व्यावहारिक रूपमा सफल र सुलभ तुल्याउन यस अघि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत प्राधिकरण र निजी क्षेत्रसमेतको संलग्नतामा प्राविधिक मार्गदर्शन र कार्यविधिहरू पनि तयार भइसकेको छ ।  नीतिगत पक्ष तथा केही व्यावहारिक पक्ष सुधार गरेर आफ्नो घरको छानामा सौर्य ऊर्जाको प्यानल र आवश्यक उपकरण जडान गरी विद्युत उत्पादन गरेर विद्युत प्राधिरणलाई बिक्री गर्न उपभोक्ताहरूलाई प्रोत्साहित गर्न सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गर्नुपर्ने बारे पनि विज्ञहरूले राय प्रकट गरे ।

सोसाइटी अफ ईलेक्ट्रिकल ईञ्जीनियर्स नेपालका अध्यक्ष डिल्ली रत्न शाक्यको अध्यक्षतामा सञ्चालिल उक्त छलफल कार्यक्रममा प्राध्यापक डा. जगन्नाथ श्रेष्ठले सौर्य विद्युतको प्राविधिक पक्ष, नेपालमा सौर्य विद्युतको विकास तथा विद्यमान अवस्थामा र भविष्यमा उक्त प्रविधिको उपयोगबाट नेपालले फाइदा लिन सक्ने बताए ।

छलफल कार्यक्रममा पूर्व सचिव अनुपकुमार उपाध्याय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशक डा. नारायण अधिकारी, नेपाल सौर्य विद्युत उत्पादक संघ (सिमेन) का अध्यक्ष प्रकाशविक्रम बस्नेत लगायत विज्ञले आआफ्नो राय /सुझाव प्रस्तुत दिएका थिए । सौर्य ऊर्जा रुफटप कार्यक्रम अघि बढाउन सरकारको कार्यक्रमहरूमा प्राथमिकताका साथ समावेश गराउन पहल गर्ने, समस्या पहिचान गरी समाधानका उपायहरु सिफारिस गर्ने, सरोकारवालाहरूका साथ छलफल, र गोष्ठी आयोजना गर्ने निर्णय पनि छलफलमा भएको छ ।

यसैगरी सोसाइटी अफ ईलेक्ट्रिकल ईञ्जीनियर्स नेपाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल सौर्य विद्युत उत्पादक संघ (सिमेन) र अन्य संस्थाहरूका साथ सहकार्य गरेर सोलार रुफटप नेटमिटरिङ्ग प्रवर्द्धन लागि पाइलट प्रोग्राम सञ्चालन गर्न पहल गर्ने निर्णय  छलफलले गरेकाे छ । १ सय मेगावाटको एउटा आयोजना वा १० मेगावाटका १० वटा आयोजना वा त्यस्तै कुनै समीकरणबाट १ सय मेगावाट विद्युत उत्पादन गर्नु र एक लाख घरका छानामा एक किलोवाटका सौर्य ऊर्जाका प्यानल राखेर विद्युत उत्पादन गर्नु प्राविधिक रुपमा एकै भएको उनीहरूको भनाइ छ ।

काठमाडौं उपत्यकाका ६ लाख घरमध्ये १ लाख घरका छानाबाट कम्तिमा १ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने र सोको लागि तयार गरिएका प्रावधानहरू परिमार्जित गरी सहज तुल्याउन र कम ब्याज दरमा ऋणसमेत उपलव्ध गराउन सकेमा सोलार रुफटप नेटमिटरिंग विधिबाट ऊर्जा क्षेत्रले प्रशस्त लाभ लिन सकिने उनीहरूले भनेका छन् ।

अधिकतम लाभ लिनका लागि ४/५ लाख घरका छानाहरू उपयोगमा ल्याउन सकिने अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रविधिको गुणस्तर राम्रो हुँदै आएको र लागत कम हुँदै आएको वर्तमान परिप्रेक्ष्यमा सामान्य उपभोक्ताहरुले आफै विद्युत उत्पादन राष्ट्रिय प्रसारणमार्फत गरी बिक्री गर्ने र आफुलाई आवश्यक विद्युत प्राप्त गरी राष्ट्रलाई र व्यक्तिलाईसमेत फाईदा पुग्ने भएकोले सोलार रुफटप नेटमिटिरिङ्ग विधि नेपालका लागि उपयुक्त हुनेमा उनीहरूले जोड दिए ।


Read Previous

विदेशी लगानीकर्ताको सहजीकरणका लागि नबिल बैंक र बोर्डबीच समझदारी

Read Next

दिगो विकासको पर्खाइमा डाँडापारीबासी

Leave a Reply

Your email address will not be published.