Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

दिगो विकासको पर्खाइमा डाँडापारीबासी


राजधानीसँगै जोडिएको जिल्ला काभ्रे । देशको राजधानीबाट नै जम्माजम्मी ७० किलोमिटरको दूरी, तर विकासलाई नियाल्दा लाग्छ कुनै दूर क्षेत्र । जसलाई राज्यसंयन्त्रको भित्री आँखाले नियाल्न धेरै ढिलो गरिसकेको छ । साविकका ११ गाविस, महाभारत पारिको क्षेत्र हालका ३ पालिकाको भूगोल, सबैले सम्बोधन गर्ने शब्द डाँडापारी । साँच्चै भूगोलले डाँडापारी, सुविधा डाँडापारी, रोजगारीले डाँडापारी, नेतृत्वमा डाँडापारी अनि विकासका पूर्वाधारका दृष्टिले डाँडापारी ।
सिन्धुली, मकवानपुर तथा ललितपुरसँग सिमा जोडिएको क्षेत्र पातलो बस्ती, अधिकांश भिरालो भुभाग जनजातिको बाहुल्यता, जातिगत रुपमा तामाङ जातिको आधिक्यता, निर्वाहमुखी कृषि पेसा, १८ वर्ष पुग्न नपाउँदै वैदेशिक रोजगार यो नै यहाँको सहजै देखिने परिचय हो । तामाङ जातिहरुको पहिचान थलोको रुपमा विकास हुँदै गरेको यस क्षेत्रको आर्थिक सामाजिक जनजीवन अझै कष्टकर नै छ ।

डाँडापारीको पहिलो समस्याको रुपमा मैले भूगोल नै देखेको छु । समुन्द्री सतहबाट ३ सय मिटरदेखि ३ हजार मिटरको उचाईसम्म रहेको डाँडापारीमा टार, बेसी र फाँटहरु सिमित छन् । अधिकांश क्षेत्र भिरालो पाखा रहेको छ । मकै कोदो फापर मुख्यबालीको रुपमा खेति गरिने भए पनि त्यो सबै निर्वाहमुखी मात्र छ । बस्ती पातलो छ । कति गाउँमा त सामुदायिक भेटघाटका लागि पनि धेरै हिँडनु पर्छ । विपत्तिको समयमा गुहार पाउन पनि लामो समय लाग्छ ।

हाल दुई महाभारत तथा खानीखोला गाउँपालिकामा रहेका साविकका १० गाविसहरूलाई डाँडापारी भनेर चिनिन्छन् । तीसँगै पर्ने साविकको च्याम्राङबेसी पनि महाभारत पारी नै पर्छ । जुन गाविसको भौगोलिक तथा विकासको अवस्था पनि अन्य १० गाविस भन्दा खासै अन्तर छैन ।

बसोबासका आधारमा, काम तथा घुमफिरले यहाँको भूगोल, सामाजिक, आर्थिक जनजीवन, राजनीतिक अवस्थालाई राम्रैसँग नियाल्ने मौका पाएको छु । करिब २ दशकअघि देखिको डाँडापारीलाई सिंहवालोकन गरेको छु । डाँडापारीको पहिलो समस्याको रुपमा मैले भूगोल नै देखेको छु । समुन्द्री सतहबाट ३ सय मिटरदेखि ३ हजार मिटरको उचाईसम्म रहेको डाँडापारीमा टार, बेसी र फाँटहरु सिमित छन् । अधिकांश क्षेत्र भिरालो पाखा रहेको छ । मकै कोदो फापर मुख्यबालीको रुपमा खेति गरिने भए पनि त्यो सबै निर्वाहमुखी मात्र छ । बस्ती पातलो छ । कति गाउँमा त सामुदायिक भेटघाटका लागि पनि धेरै हिँडनु पर्छ । विपत्तिको समयमा गुहार पाउन पनि लामो समय लाग्छ ।

विकट डाँडापारीबासीले सामान्य सुविधाका लागि लामो समय सामाजिक संस्थाहरुमा निर्भर रहनुपर्यो । विद्यालय भवन निर्माण, खानेपानी, घर घरमा शौचालय, स्वास्थ्य चौकी भवन, सिंचाई, लघुजलविद्युत, कृषि, महिला सशक्तिकरण, साक्षरता अभिबृद्धि जस्ता विषयमा डाँडापारीबासीका लागि सामाजिक संस्थाहरु सहयोगी बने । नेपाल स्कुल परियोजना, जाइका, बागमती जलाधार आयोजना सर्वसाधारणबाट सुनिने संस्थाका नाम हुन् ।

२ दशक अगाडी र अहिलेमा डाँडापारी विकासको गतिमा अगाडि बढेको भने पक्कै छ । त्यसमा पनि संघीयता कार्यान्वनपछि विकासले सामान्य गति लिएको छ । तर अपेक्षाकृत विकास भने हुन सकेको छैन् । जसले यहाँका बासिन्दाको दैनिक जीवनमा समान्य मात्र प्रभाव परेको छ । लोकतन्त्र स्थापनापछि नेतृत्व विकासको लक्षण देखिए पनि केन्द्रीय राजनीतिमा पहुँच राख्ने नेतागण यस क्षेत्रले जन्माउन सकेन । जसका बाबजुद केन्द्रमै पहुँच राख्ने नेतृत्वले यस क्षेत्रमाथि दुई ओटा दुष्टिकोण राखेको देखिन्छ । साझा मञ्चमा उपस्थिति नेतृत्वले क्षेत्रगत रुपमा प्रस्तुत गरेका फरक–फरक दुष्टिकोणबाट यसको आभास हुन्छ ।

पहिलो ‘डाँडापारी क्षेत्र भौगोलिक रुपमा विकट छ । विकासका स्पष्ट प्याकेज प्रस्तुत हुन सकेका छैनन् । सर्वसाधरणले आधारभूत सुविधा पाउन पनि कठिन छ । जिल्लाकै विकट अनि कष्टकर जीवनयापन गर्न बाध्य क्षेत्र रुपमा परिभाषित गर्न सकिन्छ । पहिले त्यस क्षेत्रका लागि आवश्यक पर्ने विकासका पूर्वाधारको बन्दोवस्त गरौं त्यसमा दिगोपन दिऔं । विकटताको दुरी कम गरौं ।’
दोस्रो ‘डाँडापारी कसरी विकट हुन्छ ? त्यो त सम्भावनाको खानी हो । जल, जमिन, पर्यटन, कृषि सबै क्षेत्रमा सम्भाव नै सम्भावना छ । त्यस क्षेत्रको विकास जिल्लाको अन्य क्षेत्रको तुलनामा बजेट पनि समान स्तरमै गएको छ । सरकारले छिट्टै त्यस क्षेत्रको विकासका लागि पूर्ण व्यवस्थापन गर्छ र सुविधायुक्त ग्रामीण क्षेत्रको रुपमा विकास हुन्छ ।’

डाँडापारीबासीको आफ्नै छुट्टै चाहना छ । शिक्षा, स्वास्थ्य, सडक सुविधा, रोजगारीसँगै भएको स्थलमा बसोबास गर्ने । अन्य केही असुविधा भोगेर पनि सधैको लागि पिठ्युँको डोको र शिरको नाम्लो हटाउने ।

यी दुवै तर्क नेतृत्व तहमा रहने अझ भनौ सरकारसँग निकट हुँदाका उच्च पदस्थ व्यक्तित्वका हुन् । यस प्रकारका भनाइ सुनेर दशकौं काटिसकेका डाँडापारीबासीलाई यी तर्कहरु माथि खासै विश्वास छैन । उनीहरुलाई थाहा छ नेतृत्वले यी वाक्य दशकौं अघिदेखि बोलिरहेका छन् । नेतृत्वले यहाँको न विकटता देख्छ न सम्भवना नै, यी त सब गर्ने भाषणमात्र हुन् । यस क्षेत्रका लागि विकासका प्याकेज ल्याउने र सम्भावनाहरुको खोजी गरी प्रयोग गर्ने नेता नै छैनन् ।
पातलिँदै गरेको डाँडापारीको बस्ती, बाँझो बनेको जग्गा जसमा मकै कोदो त उत्पादन कमी हुन्थ्यो होला तर माटो र हावा पानीका आधारमा अन्य खेतिबाट पनि प्रशस्त आम्दानी पो हुन्थ्यो की ? गाउँको रोपनी छाडेर शहरको आनामा किन खुशी हुँदैछन् डाँडापारीबासी ? यस विषयमा नेतृत्व तहले विचार पु¥याउन ढिला भइसकेको छ । नेतृत्वहरुका तर्क झै भूगोलले ठगिएको छ डाँडापारी तर सम्भावनाले पनि उत्तिकै भरिपूर्ण छ ।
डाँडापारीबासीको आफ्नै छुट्टै चाहना छ । शिक्षा, स्वास्थ्य, सडक सुविधा, रोजगारीसँगै भएको स्थलमा बसोबास गर्ने । अन्य केही असुविधा भोगेर पनि सधैको लागि पिठ्युँको डोको र शिरको नाम्लो हटाउने । उनीहरुको आफ्नै परिभाषा छ गुणस्तरीय जीवनको । त्यसकै आशामा वर्षौ खाडीमा पसिना बगाएर बाँचेर आएकाहरु जो थोरै आर्जन गरेको पैसाले जिल्लाको पनौती, बनेपा, धुलिखेल, जस्ता क्षेत्रमा सिमित भूमि खरिद गरि टाउको लुकाउने मात्र किन नहोस छाप्रो निर्माण गर्ने र सुखी जीवन जिउने ।

३ दशक अगाडीबाट निर्माण शुरु गरिएको खोपासी तालढुङ्गा सडक उद्देश्य अनुरुप निर्माण गति दु्रत बन्न सकेन । सडक निर्माणमा भएका गतिविधिका कारण कालो सूचीमा नै परेको सडक अहिले तालढुङ्गा सम्म नै खुलेको छ । सवारी साधन संचालन पनि हुन्छन् । तर सडक मौसमी छ जोखिमपूर्ण छ । खोपासी–च्याम्राङबेसी–मिल्चे बोरन हुँदै तालढुङ्गा पुग्ने सडक मिल्चेसम्म निर्माण भए पनि त्यसअघि बढ्न सकेको छैन् । अहिले च्याम्रङबेसीबाट ललितपुरको गिम्दी हुँदै तालढुङासम्म सवारी चल्छ । त्यो सडक पनि मौसमी छ । वर्षमा ८ महिना मात्र संचालन हुन्छ ।
अहिले पनि जटिल विरामीका लागि हेलिकप्टर प्रयोग गरिन्छ । अस्पताल अभाव छ । सदरमुकाममा भएका अस्पतालसम्म विरामी पुर्याउन एम्बुलेन्स अभाव छ । पछिल्लो समय गाउँ–गाउँमा माध्यमिक तहका विद्यालय त खुल्यो तर कक्षा १२ पढ्नै पनि विद्यार्थीहरुको लागि घर छाड्नुपर्ने बाध्यता छ । उच्च शिक्षाका लागि सहर नै पस्नुपर्छ । पुर्वाधार भित्रका यी त प्रतिनिधि उदाहरण मात्र हुन् । विकासको प्रयास सबै क्षेत्रमा भएको छ । तर प्याकेज सहितको विकासको अभाव छ ।

महाभारत पारिको क्षेत्र भौगोलिक रुपमा डाँडापारी सधै रहला तर सेवा सुविधा र विकासका शर्तमा डाँडापारी हुनुहुँदैन । स्थानीय सरकारहरु सेवासुविधा प्रदान गर्न कटिवद्ध हुनुपर्दछ । केन्द्रीय नेतृत्वबाट यस क्षेत्रको विकासमा थप चासो दिनुपर्छ । आफ्नै क्षेत्रमा नेतृत्व उत्पादन गर्न नसकेपनि नेतृत्वलाई सहयोग गरेर डाँडापारीबासीले सधै दायित्व पूरा गरेकै छन् । उनीहरुको दायित्वको बदला नेतृत्वबाट पनि कतव्र्य पूराहोस डाँडापारीबासीले विकासका पूर्वाधारहरु सहज रुपमा उपयोग गर्न पाउन समग्र डाँडापारीबासीको चाहना यही छ ।


Read Previous

रुफटपको सौर्य विद्युतकाे नेट मिटरिङ गर्न आवश्यकः विज्ञ

Read Next

घुन्सा खोला निर्माण तथा सञ्चालन गर्दा पर्ने प्रभावबारे राय/सुझाव माग

Leave a Reply

Your email address will not be published.