
काठमाडौँ। जलविद्युत् आयोजना विकास गर्दै आएको एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ। आईपीओ निष्कासन तथा व्यवस्थापनका लागि कम्पनी र सिद्धार्थ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ।
२०८३ असोज ९ गते भएको सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले आ-आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरे।
सम्झौताअनुसार एबीपी इनर्जीको प्रस्तावित आईपीओ निष्कासन तथा व्यवस्थापनसम्बन्धी प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था तथा सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिअनुसार अघि बढाइनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटलले काम गर्नेछ।
कम्पनीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीमा ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना विकास गरिरहेको छ। तादी खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने उक्त आयोजना नदी प्रवाहमा आधारित प्रकृतिको हो।
आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाबाट २०८४ वैशाख मसान्तसम्ममा व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
आयोजनामा सिद्धार्थ बैंकले ऋण लगानी गर्ने गरी सम्झौता भइसकेको छ। कुल १ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिद्धार्थ बैंकले १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्नेछ। हाल आयोजनाको ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको कम्पनीले जनाएको छ।
कम्पनीको सञ्चालक समूहमा जलविद्युत् क्षेत्रमा लामो समयदेखि अनुभव हासिल गरेका पूर्णलाल श्रेष्ठ र बलराम खतीवडाका साथै नेपाली प्राविधिक उद्यमी तथा एफवान सफ्ट इन्टरनेसनल र इसेवाका संस्थापक अजगर अली रहेका छन्।
कम्पनीले अनुभवी नेतृत्व र ऊर्जा क्षेत्रप्रतिको दीर्घकालीन प्रतिबद्धतामार्फत नेपालको जलस्रोतको प्रभावकारी उपयोग गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादनमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।


