
लमजुङ। पहिरो र बाढीका कारण प्रभावित डुम्रे-बेँसीसहर-चामे सडकमा अवरोध हटाएर यातायात सुचारु गर्ने काम तीव्र पारिएको छ। बेँसीसहर-चामे सडकको रामबजारमा रहेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको छ।
तिमाङदेखि कोतोसम्म खसेको पहिरो हटाउने काम भइरहेको छ। फापरखेतमा सडक निर्माणका क्रममा स्थानीयको खेत काट्नुपर्ने भएपछि जग्गाको क्षतिपूर्तिसम्बन्धी विवाद उत्पन्न भएको थियो। पालिका, जिल्ला प्रशासनलगायत निकायसँग समन्वय गरी उक्त समस्या समाधान गरिएको छ।
खोत्रोमा बाढीले बगाएको सडकमा थप भाग काटेर सडक फराकिलो बनाउने तथा टेवा पर्खाल निर्माण गर्ने काम भइरहेको छ। उक्त स्थानमा आज बेलुकासम्म यातायात सुचारु गर्ने तयारी गरिएको छ। खोत्रो नजिकैको भीरमा नेपाली सेनासँग समन्वय गरी विस्फोट गराएर चट्टान हटाउने कामसमेत भइरहेको छ।
यस्तै, बगरछापमा थुप्रिएको लेदो तथा पहिरो हटाउने काम जारी छ। बाढीले बगाएका काठेपुल भएका स्थानमा अस्थायी बाटो निर्माण गरेर पर्सीसम्म डुम्रे-बेँसीसहर-चामे सडक सुचारु गर्ने लक्ष्य राखिएको छ।


