
काठमाडौँ। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्ले नेपाललाई सन् २०२६-२७ का लागि उप-सभापति (Vice-Chair) मा निर्वाचित गरेको छ। क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाल उप-सभापतिमा निर्वाचित भएको हो।
एआईआईबीको वार्षिक बैठकमा नेपालको प्रतिनिधित्व गरेका अर्थमन्त्री एवं गभर्नर परिषद्का गभर्नर डा. स्वर्णिम वाग्लेले ‘Governors’ Business Roundtable’ मा कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि पूर्वाधारमार्फत पुँजी निर्माण महत्वपूर्ण स्रोत रहेको बताए।
उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका प्रमुख साधनमा लगानी बढाउनुपर्नेमा जोड दिए। नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई थप सहुलियतपूर्ण बनाउने उपाय खोज्नुपर्ने र स्वदेशी तथा विदेशी निजी पुँजी आकर्षित हुने गरी वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने धारणा उनले राखे।
बैठकका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्ष तथा कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा नेपालले प्राकृतिक विपत्तिपछि गर्नुपर्ने पुनर्निर्माणमा सहयोगका विषयमा छलफल गरे।
नेपाल पहिलोपटक एआईआईबीको उप-सभापतिमा निर्वाचित भएपछि नेपालको पूर्वाधार विकासमा बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य मुलुकबीच सहकार्य बढाउन थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
यसैबीच, एआईआईबीको वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री वाग्ले बुधबार स्वदेश फर्किएका छन्। उनी कतार एयरवेजको जहाजमार्फत बिहान ८:४५ बजे काठमाडौं आइपुगेका हुन्।
नेपालको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य मुलुकबीच थप सहकार्यका दृष्टिले भ्रमण फलदायी भएको बताइएको छ। वाग्ले एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए।


