
काभ्रेपलाञ्चोक। निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीको पक्की पुल छ वर्षदेखि अलपत्र परेको छ।
भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्याउने उद्देश्यले सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ भदौ १० गते पुल निर्माणको सम्झौता भएको थियो। तीन वर्षभित्र अर्थात् २०८० जेठ २ गतेसम्म काम सक्नुपर्ने भए पनि हालसम्म पुलका तीन ओटा पिल्लर र काभ्रेतर्फ एउटा स्पान मात्र निर्माण भएको छ।
समयमै काम नभएपछि २०८१ वैशाख २० गते २३ महिना २५ दिन म्याद थप गरिएको थियो। थपिएको समयमा समेत निर्माण व्यवसायीले काम अघि बढाउन नसकेको सडक विभागले जनाएको छ।
भ्याटसहित ११ करोड ७ लाख ४२ हजार २०० रुपैयाँमा ठेक्का सम्झौता भएको पुल निर्माण पूरा नहुँदा स्थानीयले लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता छ।

