
चितवन। नारायणी नदीमा आएको बाढीका कारण भरतपुर महानगरपालिका-१ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा क्षति पुगेको छ। विद्यालयका भुइँ तलाका कक्षाकोठामा बाढीले लेदो-माटो थुपारेपछि पठनपाठन ठप्प भएको छ।
बाढीले ल्याएको बाक्लो माटो जमेकाले सरसफाइ गर्न समेत कठिन भएको विद्यालयले जनाएको छ। स्थानीय बासिन्दा आफ्नै घरको हिलो सफा गर्न व्यस्त रहेकाले मजदुरसमेत पाउन कठिन भएको छ। त्यसपछि शिक्षक, कर्मचारी र विद्यार्थी मिलेर विद्यालयको सरसफाइ गरिरहेका छन्।

विद्यालयले वडा कार्यालय, भरतपुर महानगरपालिका, महानगरको शैक्षिक शाखा तथा नेपाली सेनाको ब्यारेकलगायत निकायसँग सहयोग मागेको जनाएको छ। तर अहिलेसम्म सरसफाइका लागि आवश्यक जनशक्ति उपलब्ध नभएको विद्यालयको गुनासो छ। महानगरपालिकाबाट आएको दमकलले माथिल्लो पेटीमा पानी हाले पनि कक्षाकोठा अझै हिलाम्मे छन्।

प्रधानाध्यापक शान्ता अधिकारीका अनुसार विद्यालयले हरेक वर्ष बाढीको समस्या झेल्दै आएको छ। यसअघिको बाढीका कारण कक्षा ३ को भुइँसमेत भासिएर जोखिमपूर्ण बनेको छ। उक्त कक्षाकोठामा बालबालिकालाई राखेर पढाउन सक्ने अवस्था नरहेको उनले बताइन्।
दशैं नजिकिँदै गर्दा विद्यालय बन्द भएपछि अभिभावकहरू बालबालिकाको पढाइ प्रभावित हुने चिन्तामा छन्। केही विद्यार्थी भने विद्यालयमा थुप्रिएको हिलो आफैँ सफा गर्न जुटेका छन्। विद्यालयमा हाल १२० विद्यार्थी अध्ययनरत छन्।

तस्बिर: निशा श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी


