Nepal Purbadhar

तीन महिनादेखि बन्द मार्तडी-कोल्टी सडक खुलाउने प्रयास


बाजुरा। वर्षायाम सुरू भएसँगै असार दोस्रो सातादेखि बन्द रहेको मार्तडी-कोल्टी सडक सञ्चालनमा ल्याउन मंगलबारदेखि काम सुरू गरिएको छ। पूर्वी-उत्तरी बाजुरा जोड्ने सडक केही दिनभित्र सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने र सडक मर्मतको काम थालिएको हो।

पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरेर सडक खुलाउने काम भइरहेको छ। लगातारको वर्षाले विभिन्न स्थानमा पहिरो खस्नुका साथै खोलामा पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो।

सडक बन्द हुँदा पूर्वी-उत्तरी क्षेत्रका चार पालिकाका साथै हुम्ला र मुगुलगायत जिल्लाका नागरिक प्रभावित भएका छन्। यात्रुले मार्तडीदेखि कोल्टीसम्म पुग्न २ हजार रुपैयाँसम्म भाडा तिर्नुपर्ने अवस्था आएको छ भने दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री र स्याउ ढुवानीसमेत प्रभावित भएको छ।

बडीमालिका-८ को बाउली खोला र वडा नं. ७ को रजातोली खोलामा पुल नहुँदा तथा जिल्ली, रजातोलीलगायत स्थानमा पहिरो खस्दा हरेक वर्ष सडक अवरुद्ध हुँदै आएको छ। बाउली खोलाको पुल पाँच वर्षदेखि अधुरो रहेको नगरप्रमुख अमरबहादुर खड्काले बताए।

करिब २७ वर्षअघि शिलान्यास भएको मार्तडी-कोल्टी सडक अझै पूर्ण रूपमा स्तरोन्नति हुन सकेको छैन। पूर्वाधार विकास कार्यालय अछामका अनुसार गत आर्थिक वर्षमा ठेकेदार कम्पनीले काम नगर्दा सडकको २० करोड रुपैयाँ बजेट फिर्ता भएको थियो।


Read Previous

सञ्चालनमा आयो बीपी हाइवे , साना गाडी मात्रै चल्ने

Read Next

पहाडी क्षेत्रहरुमा रोपवेको विकास गर्नुपर्छ-हितेन्द्र शाक्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar