Nepal Purbadhar

सञ्चालनमा आयो बीपी हाइवे , साना गाडी मात्रै चल्ने


काभ्रेपलाञ्चोक। अविरल वर्षाका कारण ९ असोजदेखि बन्द रहेको बीपी राजमार्गमा सवारीसाधन सञ्चालनमा आएका छन्। सडक डिभिजन कार्यालय भक्तपुरले बाढीले क्षति पुर्‍याएका स्थानमा डाइभर्सन निर्माण गरेपछि मंगलबारदेखि साना सवारीसाधन सञ्चालनमा ल्याएको हो।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी खोलामा आएको बाढीले सडक बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको हो।

बाढीले नमोबुद्ध-६ को चौकीडाँडा, रोशी-७ को घुमाउने तथा रोशी-११ र १२ को माम्तीमा रहेका डाइभर्सन बगाएको थियो। यस्तै, नमोबुद्ध-६ को चौकीडाँडा, रोशी-७ को चारसयवेशी, रोशी-८ को गिम्दीवेशी र रोशी-११ को माम्तीमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

सडक डिभिजनका अनुसार चौकीडाँडामा खोलाबाट र खोलाभन्दा माथिबाट गरी दुई स्थानमा डाइभर्सन निर्माण गरिएको छ।

हाल साना सवारीसाधन सञ्चालनमा आए पनि ६ चक्के मालवाहक सवारीसाधन, बस तथा मिनीबसलाई भने तत्काल सञ्चालनको अनुमति दिइएको छैन। सडक डिभिजनले दिउँसोदेखि सबैखाले सवारीसाधन पूर्ववत् सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।


Read Previous

५ वर्ष सचिव बनेर पूर्वाधार हाँकेका सिग्देल आजदेखि अवकाशमा

Read Next

तीन महिनादेखि बन्द मार्तडी-कोल्टी सडक खुलाउने प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar