
काठमाडौं। रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० ओटा स्याटेलाइट फोन उपलब्ध गराएको छ।
प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका स्याटेलाइट फोन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।
उपलब्ध गराइएका २० ओटा फोनमध्ये १० ओटा रसुवा र १० ओटा नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ। यी स्याटेलाइट फोन आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने जनाइएको छ।
टेलिकम नेटवर्कको पहुँच नपुगेका तथा नेटवर्क अवरुद्ध भएका दुर्गम क्षेत्रमा समेत स्याटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा प्रयोग गर्न सकिन्छ। विपद्का समयमा नियमित दूरसञ्चार सेवा प्रभावित हुँदा स्याटेलाइट फोन वैकल्पिक सञ्चार माध्यमका रूपमा प्रयोग हुनेछ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्य भइरहेका बेला सञ्चार सम्पर्कलाई निरन्तरता दिन स्याटेलाइट फोनले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

