Nepal Purbadhar

बाढीले ३ जिल्लाका ६ हजारभन्दा बढी निजी घर बगे, १२ अर्बको क्षति

default


काठमाडौं। भोटेकोशी तथा त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका ६ हजारभन्दा बढी निजी घर बगाएको प्रारम्भिक अनुमान सरकारले सार्वजनिक गरेको छ।

शहरी विकास तथा भवन निर्माण विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार बाढीबाट निजी आवासतर्फ मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

पूर्वाधार विकास मन्त्रालय मातहतका विभागहरूले आज पत्रकारसँग गरेको छलफलमा बाढीबाट भएको भौतिक क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेका हुन्।

विभागका अनुसार बाढीका कारण ४५ ओटा सरकारी तथा सार्वजनिक भवनमा समेत क्षति पुगेको अनुमान छ। यद्यपि क्षतिको विवरण संकलन तथा अध्ययन अझै जारी रहेकाले संख्या थपघट हुन सक्ने विभागले जनाएको छ।

अस्थायी आवास बनाउन ९० करोड आवश्यक

बाढीबाट घर गुमाएका ६ हजारभन्दा बढी परिवारका लागि त्यति नै संख्यामा अस्थायी आवास निर्माण गर्नुपर्ने अवस्था रहेको विभागले जनाएको छ।

प्रारम्भिक अनुमानअनुसार ६ हजारभन्दा बढी अस्थायी आवास निर्माणका लागि मात्रै कम्तीमा ९० करोड रुपैयाँ तत्काल आवश्यक पर्ने देखिएको छ।

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो भौतिक क्षति पुगेपछि सरकारले क्षतिको विस्तृत विवरण संकलन तथा पुनःस्थापनाका लागि आवश्यक संरचना र स्रोत व्यवस्थापनको काम अघि बढाइरहेको छ।


Read Previous

बाढीपीडितको उद्धारमा बिजी ग्रुपको मानवीय पहलः बटु र गणेशको नेतृत्वमा १ करोड २ लाख ७७ हजार सहयोग

Read Next

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar