Nepal Purbadhar

काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन


काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालय काठमाडौंले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको छ। सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयले मर्मत अभियानलाई तीव्रता दिएको हो।
कार्यालयका अनुसार चक्रपथभित्रका सडकको मर्मतलाई प्राथमिकताका साथ अघि बढाएपछि अहिले चक्रपथबाहिरका सडकमा काम केन्द्रित गरिएको छ। सवारीसाधनको चाप कम हुने रातको समयसमेत उपयोग गर्दै मर्मत कार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।
सोमबार साँझ नारायणगोपाल चोक–बुढानीलकण्ठ सडकखण्डअन्तर्गत गोल्फुटार, हात्तीगौंडालगायत क्षेत्रमा सडकका क्षतिग्रस्त भाग मर्मत गरिएको थियो। सडकमा खाल्डाखुल्डी देखिएपछि प्राविधिक टोलीसहितको एम्बुलेन्स तत्काल सम्बन्धित स्थानमा पुगेर मर्मत गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।
‘सडक एम्बुलेन्स’मार्फत काठमाडौंका सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य राखिएको छ। कार्यालयका अनुसार एम्बुलेन्स सेवा वर्षभरि ३६५ दिन चौबीसै घण्टा सञ्चालन गर्ने योजना छ।
एम्बुलेन्समा खाल्डो काट्ने, हावा तथा पानीको प्रयोग गरी सफा गर्ने, इमल्सन तताउने र छर्कनेलगायत सडक मर्मतका लागि आवश्यक उपकरण जडान गरिएको छ। मर्मत कार्यलाई प्रभावकारी बनाउन तालिमप्राप्त प्राविधिक टोलीसमेत परिचालन गरिएको छ।
सडक मर्मत आवश्यक पर्ने स्थानको पहिचान र जानकारी संकलनका लागि कार्यालयले ‘रोड मेन्टिनेन्स साइट रेस्क्यु (RMSR)’ नामक मोबाइल एपसमेत सञ्चालनमा ल्याएको छ। एपमार्फत प्राप्त जानकारीका आधारमा सम्बन्धित टोलीलाई परिचालन गरी तत्काल मर्मत कार्य अघि बढाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
‘सडक एम्बुलेन्स’ परिचालन भएपछि सडकमा आकस्मिक रूपमा देखिने खाल्डाखुल्डी तत्काल मर्मत गर्न सहज हुने अपेक्षा गरिएको छ। काठमाडौंलाई पाइलट परियोजनाका रूपमा लिएर सुरु गरिएको यो अभियान प्रभावकारी भएमा देशका अन्य सडक डिभिजनमा समेत विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ।

Read Previous

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

Read Next

जेन–जीका माग सम्बोधन गर्न सरकारको ‘डेडिकेटेड टिम’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar