Nepal Purbadhar

चितवनमा ग्यासको हाहाकार, अभाव नभएको सरकारी दाबीलाई गिज्याइरहेको उपभोक्ताको लाइन


चितवन। जिल्लामा ग्यासको हाहाकार भएको छ। खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा भरतपुरका विभिन्न क्षेत्रमा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर घण्टौं लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर ग्यास पाउनै साता दिनसम्म कुर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन्।

भरतपुरका विभिन्न ग्यास डिलरसमक्ष बिहानैदेखि खाली सिलिन्डर बोकेर लाइन लागेका उपभोक्ताको भीड देखिएको छ। कतिपय उपभोक्ताले धेरै दिनदेखि ग्यास खोज्दा पनि नपाएको र घरायसी कामकाज नै प्रभावित भएको बताएका छन्। बजारमा ग्यासको माग बढे पनि आपूर्ति त्यसअनुसार हुन नसक्दा अभाव झन् चर्किएको उनीहरूको भनाइ छ।

भरतपुरमा देखिएको यो अवस्था भने सरकारले पछिल्ला केही दिनदेखि सार्वजनिक रूपमा व्यक्त गर्दै आएको दाबीसँग मेल खाँदैन।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले गत साउन ११ गते बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेकी थिइन्। बजारमा ग्यासको मौज्दात र आपूर्ति अवस्थालाई मन्त्रालयले निरन्तर नियालिरहेको उल्लेख गर्दै उनले उपभोक्तालाई त्रसित नहुन आग्रह गरेकी थिइन्।

मन्त्री यादवले ग्यास वितरणका क्रममा देखिएको अवस्थालाई ध्यानमा राख्दै सर्वसाधारणलाई तत्काल आवश्यक मात्रामा मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौज्दात नगर्न पनि अनुरोध गरेकी थिइन्। उनका अनुसार अत्यधिक खरिदका कारण बजारमा अभावजस्तो अवस्था देखिएको हुन सक्ने मन्त्रालयको बुझाइ थियो।

त्यसको भोलिपल्ट साउन १२ गते मन्त्री यादवले काभ्रेको नालास्थित सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको स्थलगत निरीक्षण गरेकी थिइन्। उद्योगीहरूसँगको छलफलमा उनीहरूले ग्यासको आपूर्ति नियमित रहेको तर उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गर्दा वितरणमा चाप परेको बताएका थिए।

निरीक्षणपछि मन्त्री यादवले ग्यास उद्योगलाई व्यावसायिक प्रयोजनभन्दा घरायसी उपभोगलाई प्राथमिकतामा राखेर बिक्री–वितरण गर्न निर्देशन दिएकी थिइन्।

यता, साउन १६ गते नेपाल आयल निगमले पनि प्रेस विज्ञप्ति जारी गर्दै बजारमा एलपी ग्यासको अभाव नरहेको दाबी गरेको थियो। निगमका अनुसार १४.२ केजीका ग्यास सिलिन्डरको नयाँ बिक्री–वितरण व्यवस्था लागू भइसकेको छ र दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको छ।

निगमले बजारमा ग्यास अभावको समाचार सार्वजनिक भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्पूर्ण ग्यास उद्योगलाई सहज आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको थियो। साथै विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न निर्देशन दिएको थियो।

काठमाडौं उपत्यकामा उच्च माग भएका केही ब्रान्डका ग्यास सिलिन्डर टेकुस्थित कार्यालयबाट समेत सम्बन्धित उद्योगमार्फत वितरण गर्ने व्यवस्था गरिएको निगमले जनाएको थियो। ग्यास नपाए कार्यालय समयभित्र ०१–५९७१९०२ हटलाइनमा सम्पर्क गर्न तथा आवश्यकताभन्दा बढी ग्यास खरिद वा अनावश्यक मौज्दात नगर्न पनि उपभोक्तालाई आग्रह गरिएको थियो।

तर, सरकार र नेपाल आयल निगमले बजारमा अभाव नरहेको दाबी गरिरहेकै बेला साउन १७ गते भरतपुरमा देखिएको अवस्था भने फरक देखिएको छ। खाली सिलिन्डर बोकेर घण्टौं लाइन बसेका उपभोक्ता र एक सिलिन्डरका लागि साता दिनसम्म कुर्नुपरेको गुनासोले सरकारी दाबी र बजारको वास्तविक अवस्थाबीच अन्तर देखिएको छ।

ग्यासको आपूर्ति प्रणालीमा समस्या हो, वितरण व्यवस्थापनमा कमजोरी हो वा अत्यधिक खरिदका कारण सिर्जित अस्थायी चाप हो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिन सकेका छैनन्। यद्यपि, चितवनमा देखिएको पछिल्लो अवस्थाले एलपी ग्यासको आपूर्ति र वितरण व्यवस्थापनलाई प्रभावकारी बनाउन थप समन्वय र अनुगमन आवश्यक रहेको संकेत गरेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

पहलमानपुर र महेन्द्रनगर सबस्टेशनको क्षमता विस्तार, केरौन सबस्टेशन सञ्चालनको अन्तिम तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar