
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई छुट्याइने साधारण सेयर (आईपीओ) अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन आग्रह गरेको छ।
आइतबार जारी प्रेस विज्ञप्तिमार्फत इप्पानले केही जलविद्युत् आयोजनाको आईपीओ निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि केही प्रवर्द्धक कम्पनीले स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
इप्पानले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ को उपनियम (४) ले स्थानीय प्रभावित बासिन्दालाई लाभान्वित गर्ने उद्देश्यले १० प्रतिशत सेयर छुट्याउने कानुनी व्यवस्था गरेको उल्लेख गर्दै सोही व्यवस्था अनुरूप स्थानीयलाई अंकित मूल्यमै सेयर उपलब्ध गराउन आफ्ना सम्पूर्ण सदस्य कम्पनीलाई आग्रह गरेको छ।
संस्थाका अनुसार जलविद्युत् आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकास अभियान पनि हो। आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने, निर्माण अवधिका असुविधा व्यहोर्ने तथा आयोजना सफल बनाउन प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयर छुट्याउने व्यवस्था गरिएको हो।
इप्पानले स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निष्काशन गरिए उनीहरूको पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्व कमजोर हुने तथा आयोजना र स्थानीय समुदायबीच वर्षौंदेखि निर्माण भएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने जनाएको छ।
विज्ञप्तिमा स्थानीयलाई अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्वको भावना अभिवृद्धि हुने, आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोध कम हुने तथा स्थानीयस्तरमा सहयोग र सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ। यसबाट जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न सहज वातावरण बन्नुका साथै स्थानीय समुदायको आर्थिक सशक्तीकरण, स्थानीय विकास र सामाजिक सद्भावमा पनि सकारात्मक योगदान पुग्ने इप्पानको भनाइ छ।
इप्पानले नेपाल सरकार, सम्बन्धित नियामक निकाय तथा प्रवर्द्धक कम्पनीलाई स्थानीय प्रभावित बासिन्दाको हित, आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सुमधुर सम्बन्धलाई प्राथमिकतामा राख्दै स्थानीयका लागि छुट्याइने सेयर प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउने नीति निरन्तर कायम राख्न आग्रह गरेको छ।
साथै संस्थाले साधारण सेयर निष्काशनसम्बन्धी नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन तथा सेयर निष्काशनमा भइरहेको ढिलाइका कारण जलविद्युत् आयोजनाले भोगिरहेका समस्या समाधान गर्न नेपाल सरकार र सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको छ।
