
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बढ्दो विद्युत् माग व्यवस्थापन गर्दै सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशका विभिन्न क्षेत्रमा सबस्टेशनको क्षमता विस्तार तथा विद्युत् पूर्वाधार सुदृढीकरणका कामलाई तीव्र बनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठको निर्देशनअनुसार प्राधिकरणले सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण सबस्टेशनको क्षमता विस्तार सम्पन्न गर्नुका साथै मोरङस्थित केरौन सबस्टेशन सञ्चालनको अन्तिम तयारीलाई तीव्र बनाएको जनाएको छ।

पहलमानपुर सबस्टेशनमा थपियो १६.६ एमभीएको ट्रान्सफर्मर
प्राधिकरणका अनुसार कैलालीस्थित पहलमानपुर ३३/११ केभी सबस्टेशनमा बढ्दो विद्युत् मागलाई ध्यानमा राख्दै थप १६.६ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरी साउन १६ गते सफलतापूर्वक सञ्चालन (चार्ज) गरिएको छ।
यसअघि उक्त सबस्टेशनमा ८ एमभीए क्षमताको एउटा मात्र ट्रान्सफर्मर सञ्चालनमा थियो। नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएपछि पहलमानपुर, सुखड, भजनी तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्तिको क्षमता, गुणस्तर र विश्वसनीयतामा उल्लेखनीय सुधार हुने प्राधिकरणले जनाएको छ।
महेन्द्रनगर सबस्टेशनको क्षमता दोब्बरभन्दा बढी
कञ्चनपुरस्थित महेन्द्रनगर १३२ केभी सबस्टेशनमा रहेका दुईवटा ३० एमभीए, १३२/३३ केभी पावर ट्रान्सफर्मर प्रतिस्थापन गरी ६३–६३ एमभीए क्षमताका दुई नयाँ ट्रान्सफर्मर सञ्चालनमा ल्याइएको छ।
यससँगै सबस्टेशनको कुल रूपान्तरण क्षमता ६० एमभीएबाट १२६ एमभीए पुगेको छ। क्षमता विस्तारपछि महेन्द्रनगर तथा आसपासका क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन, आपूर्तिको विश्वसनीयता, सञ्चालन लचकता र सेवा निरन्तरतामा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।
केरौन सबस्टेशन सञ्चालनको अन्तिम तयारी
सुदूरपश्चिममा क्षमता विस्तार सम्पन्न भएसँगै प्राधिकरणले अहिले मोरङस्थित केरौन १३२/३३/११ केभी सबस्टेशनलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ।
गत साता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा प्रवक्ता तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालसहितको टोलीले केरौन सबस्टेशनको स्थलगत निरीक्षण गरी निर्माण प्रगति, सञ्चालन तयारी र बाँकी प्राविधिक कार्यको समीक्षा गरेको थियो।
निरीक्षणपछि कार्यकारी निर्देशक श्रेष्ठले आयोजना निर्धारित समयभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए। त्यसपछि निर्माण व्यवसायीले १३२ केभी लाइन ट्यापिङसँग सम्बन्धित बाँकी कामलाई तीव्र बनाएको छ। हाल नयाँ टावर निर्माण, आवश्यक संरचनागत काम तथा लाइन क्लियरेन्सलगायत अधिकांश पूर्वतयारी पूरा भइसकेको र बाँकी प्राविधिक काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ।
शटडाउन छोट्याएर काम सम्पन्न गर्ने तयारी
सबस्टेशनलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्न १३२ केभी लाइन ट्यापिङका लागि निर्माण व्यवसायीले १२ घण्टाको शटडाउन आवश्यक पर्ने प्रस्ताव गरेको छ।
तर उपभोक्तामा पर्ने प्रभाव न्यूनतम बनाउन बिहान ३ बजेदेखि शटडाउन सुरु गरी सकेसम्म छोटो अवधिमै काम सम्पन्न गर्ने विस्तृत कार्ययोजना बनाउन कार्यकारी निर्देशक श्रेष्ठले निर्देशन दिएका छन्। त्यसअनुसार आवश्यक प्राविधिक तयारी, जनशक्ति परिचालन, कार्यतालिका र समन्वयका काम भइरहेको प्राधिकरणले जनाएको छ।
यसैगरी, शटडाउन अवधिमा पूर्वी नेपालका उपभोक्तामा पर्ने असर कम गर्न पूर्वी क्षेत्रका विद्युत् उत्पादन केन्द्रको अधिकतम उपयोग गर्दै ‘मिनी ग्रिड’ अवधारणामार्फत सम्भव भएसम्म निरन्तर विद्युत् आपूर्ति कायम राख्ने तयारी पनि भइरहेको छ।
प्राधिकरणका अनुसार आवश्यक स्वीकृति प्राप्त भएपछि आगामी शनिबार शटडाउन गरी १३२ केभी लाइन ट्यापिङ सम्पन्न गरिनेछ। त्यसपछि परीक्षण (टेस्टिङ) र कमिसनिङका अन्तिम प्राविधिक प्रक्रिया पूरा गरी केरौन सबस्टेशन शीघ्र सञ्चालनमा ल्याइनेछ।
केरौन सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रंगेली तथा आसपासका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुनुका साथै पूर्वी नेपालको वितरण प्रणालीको विश्वसनीयता, सञ्चालन लचकता र विद्युत् सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुने नेपाल विद्युत् प्राधिकरणको विश्वास छ।
