Nepal Purbadhar

रसुवागढी नाका पुग्ने बेत्रावती-धुन्चे सडकमा खाल्डा र हिलो, ४० वर्षपछि पनि स्तरोन्नति अधुरो


रसुवा। नेपाल-चीन व्यापारको प्रमुख प्रवेशद्वार रसुवागढी नाकासम्म पुग्ने बेत्रावती-धुन्चे सडक बर्खायाममा हिलो र खाल्डाले अस्तव्यस्त बनेपछि यात्रु तथा मालवाहक सवारीसाधनले सास्ती खेप्नुपरेको छ।

काठमाडौँलाई चीनसँग जोड्ने पासाङ ल्हामु (त्रिशुली) राजमार्गअन्तर्गत पर्ने नुवाकोटको बेत्रावतीदेखि रसुवाको धुन्चेसम्मको सडक खण्डको अवस्था वर्षौंदेखि सुधार हुन सकेको छैन। रसुवागढी नाकाबाट हुने आयात-निर्यातका अधिकांश मालवाहक सवारी यही सडक प्रयोग गर्ने भएकाले यसको कमजोर अवस्थाले व्यापारिक ढुवानीसमेत प्रभावित हुने गरेको छ।

२०४२ सालदेखि सञ्चालनमा आएको बेत्रावती-धुन्चे सडक खुलेको करिब ४० वर्ष पुग्दा पनि पूर्ण रूपमा कालोपत्रे हुन सकेको छैन। करिब ३९ किलोमिटर लामो सडकमध्ये स्याउबारीसम्मको करिब २३ किलोमिटर मात्रै कालोपत्रे छ भने बाँकी भाग अधिकांश कच्ची र केही स्थानमा कंक्रिट ढलान गरिएको छ।

सडक डिभिजन कार्यालय नुवाकोटका सूचना अधिकारी इन्जिनियर सुदीप कार्कीका अनुसार वर्षायाममा सडकका धेरै स्थान हिलाम्मे हुने गरेका छन्। यसले विशेषगरी धुन्चेसम्मको यात्रा जोखिमपूर्ण र कठिन बनाएको छ।

सडक सुधारका लागि कामाख्या कन्स्ट्रक्सनले २०८१ असारमा करिब १५ करोड रुपैयाँमा विभिन्न स्थानमा करिब चार किलोमिटर कंक्रिट ढलान गर्ने ठेक्का पाएको थियो। उक्त काम आगामी भदौ अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य रहे पनि जेन-जी आन्दोलन, एकैपटक दुवैतर्फ निर्माण गर्न नसकिने अवस्था तथा अन्य प्राविधिक कारण देखाउँदै निर्माण कम्पनीले थप समय मागेको छ।

रसुवागढी पुग्न बेत्रावती-धुन्चे मार्गको विकल्पका रूपमा बेत्रावती-मैलुङ-स्याफ्रुवेशी सडक पनि रहेको छ। यो मार्ग धुन्चे हुँदै जाने सडकभन्दा करिब २५ किलोमिटर छोटो भए पनि सडकको अवस्था कमजोर भएकाले कम प्रयोग हुने गरेको छ।

बेत्रावती-कालिकास्थान-धुन्चे हुँदै स्याफ्रुवेशी पुग्न करिब ५४ किलोमिटर दूरी पार गर्नुपर्छ भने मैलुङ हुँदै पुग्दा दूरी करिब २९ किलोमिटर मात्रै हुन्छ। यद्यपि मैलुङ सडकको स्तरोन्नति नहुँदा अधिकांश सवारी पुरानै धुन्चे मार्ग प्रयोग गर्न बाध्य छन्।

इन्जिनियर कार्कीका अनुसार भविष्यमा मैलुङ सडकको स्तरोन्नति भए बेत्रावती-धुन्चे सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ। उनले मैलुङ क्षेत्रको सडक खोलानजिक भएकाले बाढी र कटानको जोखिम रहने उल्लेख गर्दै धुन्चे मार्ग डाँडामाथि भएकाले दीर्घकालीन वैकल्पिक मार्ग बन्न सक्ने बताए।

हालसम्म बेत्रावती-धुन्चे सडकमा केही स्थानमा कंक्रिट ढलान र नियमित मर्मतबाहेक ठूलो लगानी हुन सकेको छैन। सडकको मर्मतका लागि सडक डिभिजन कार्यालय नुवाकोटले साउन ६ गते ९३ लाख र २९ लाख रुपैयाँका दुई छुट्टाछुट्टै ठेक्का आह्वान गरेको छ। यी ठेक्कामार्फत बिग्रिएका स्थानमा मर्मत तथा टालटुलको काम गरिने जनाइएको छ।

तस्बिर। नेपाल फोटो लाइब्रेरी


Read Previous

ट्रान्सफर्मर र मिटर खरिदबारे छानबिन गर्न प्राधिकरणले बनायो समिति

Read Next

विद्युत् महसुल पुनरावलोकन प्रक्रिया शुरू, नयाँ संरचना प्रस्ताव गर्न १५ दिनभित्र समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar