
काठमाडौं । बिजुलीमा भ्याट लगाएर आलोचना खेपिरहेको सरकारले महसुल घटाउने तयारी गरेको छ ।
बिजुली सरप्लस भएर खेर गइरहेका बेला भ्याट लगाएको सरकारले महसुल घटाउन समिति बनाएको हो । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले सञ्चालक अंशु किरण शाहीको संयोजकत्वमा समिति बनाएको हो । समितिमा ऊर्जा मन्त्रालयका प्रतिनिधी, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधी, ऊर्जा विज्ञ,उपभोक्ता र वित्त विज्ञसमेत रहने गरी ३ जना,उपकार्यकारी निर्देशक सदस्य सचिव रहने गरी समिति बनाएको हो । १५ दिनको कार्यवधि दिएर समिति बनाइएको हो । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले समिति बनाउन निर्देशन दिएका हुन् ।
उत्पादित विद्युत अधिकतम उपयोग सुनिश्चित गर्न,ग्राहस्त उपभोक्तालाई सहुलियत प्रदान गर्न, उच्च खपत गर्ने उत्पादनमुलक उद्योगलाई उपयुक्त सहुलियत दरमा विद्युत उपलब्ध गराई समग्र विद्युत खपत वृद्धि गर्न विद्युत महसुल पुनरावलोकन समिति बनेको हो ।
स्रोतका अनुसार सिजनल ट्यारिफ लगाउनका लागि यो समितिले प्रतिवेदन दिनेछ । सोही अनुसार सरकारले निर्णय गर्नेछ । सरप्लस हुने वर्खामा सस्तो दरमा दिने तयारी छ । बर्खामा खपत नभएर हजार मेगावाट स्पिल भइरहेको छ । त्यसै गरी हिउँदमा अपुग हुने बिजुली आयात गर्नुपर्छ । हिउँदमा महँगो बनाउने तयारी छ ।
