
काठमाडौं । अविरल वर्षापछि गएको पहिरोका कारण समुन्द्रटार–त्रिशूली ३बी १३२ केभी प्रसारण लाइनको एक टावरमा क्षति पुगेपछि दुई जलविद्युत् आयोजनाबाट राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाह प्रभावित भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पहिरोले प्रसारण लाइनको टावर नम्बर ४१ मा क्षति पुर्याएको हो। टावर क्षतिग्रस्त भएपछि उक्त प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएका ११ मेगावाट क्षमताको सूर्यकुण्ड हाइड्रोपावर र ५ मेगावाट क्षमताको बुद्धभूमि हाइड्रोपावरको विद्युत् प्रवाह (पावर इभाकुएसन) मा समस्या उत्पन्न भएको छ।
यद्यपि, प्रसारण लाइनमा समस्या आए पनि उपभोक्ताको विद्युत् आपूर्तिमा भने असर नपर्ने प्राधिकरणले जनाएको छ। प्राविधिक टोलीले चौगाडा सबस्टेसनबाट वैकल्पिक व्यवस्था मिलाएर उपभोक्तालाई निरन्तर विद्युत् आपूर्ति गरिरहेको जनाएको छ।
प्राधिकरणका अनुसार क्षतिग्रस्त टावरको मर्मत तथा सुदृढीकरणको काम छिट्टै सुरु गरिनेछ।
