
एआई तस्बीर।
काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सरकारले सुरक्षा सतर्कता बढाउनुका साथै छानबिन समितिलाई थप प्रभावकारी बनाउन दुई जना सदस्य थप गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिएर शान्ति–सुरक्षा कायम गर्न निर्देशन दिएका छन्।
गृह मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै घटनाको छानबिनका लागि गठन गरिएको समितिमा ब्यालिस्टिक तथा फरेन्सिक विज्ञताका लागि प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्य नियुक्त गरेको हो। समितिलाई प्रतिवेदन यथाशीघ्र बुझाउन पनि निर्देशन दिइएको छ।
आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपको छानबिन गर्न सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो।
यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्।
प्रधानमन्त्रीले सुनसरीको अवस्था तत्काल नियन्त्रणमा लिन, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। उनले शान्ति–सुरक्षामा कुनै सम्झौता नगरी उच्च सतर्कताका साथ सुरक्षा परिचालन गर्न पनि निर्देशन दिएका छन्।
गृह मन्त्रालयले सुनसरीजस्तै घटना दोहोरिन नदिन बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरीलगायत संवेदनशील जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय र सुरक्षा अनुगमन तीव्र बनाएको जनाएको छ।
मन्त्रालयका अनुसार वार्तामार्फत समस्या समाधानका लागि पहल भइरहेको छ भने सुनसरीको देवानगञ्जसहित संवेदनशील क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्दै गएको छ।
