
काठमाडौं । सरकारले हुलाकमार्फत राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायतका सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने व्यवस्था विस्तार गरेको दाबी गरे पनि होम डेलिभरीमार्फत वितरण भएका राहदानी र लाइसेन्सको संख्या भने मागको तुलनामा निकै न्यून देखिएको छ।
सरकारका अनुसार हालसम्म हुलाकमार्फत ८ हजार १८० ओटा राहदानी र १ हजार ९४ ओटा सवारी चालक अनुमतिपत्र मात्रै सेवाग्राहीको घरमै पुर्याइएको छ। अर्थात् हालसम्म घरमै वितरण गरिएका राहदानी र लाइसेन्सको कुल संख्या ९ हजार २७४ पुगेको छ।
यता, राहदानी विभागमा अहिले दैनिक करिब १ हजार ५०० ओटा विद्युतीय राहदानीका आवेदन दर्ता हुने गरेका छन्। यस आधारमा मासिक करिब ४५ हजार राहदानी आवेदन पर्ने अनुमान हुन्छ। त्यसैगरी, यातायात व्यवस्था कार्यालयहरूमा दैनिक ५ हजारभन्दा बढी लाइसेन्सका आवेदन पर्ने भएकाले मासिक १ लाख ५० हजारभन्दा बढी आवेदन दर्ता हुने अवस्था छ।
यसरी हेर्दा हरेक महिना करिब १ लाख ९५ हजारभन्दा बढी राहदानी र लाइसेन्सका आवेदन आउने भए पनि हालसम्म घरमै वितरण भएको संख्या १० हजार पनि नपुगेको देखिन्छ।
यद्यपि, सम्बन्धित सरकारी कार्यालयसम्म कागजात ढुवानीको काम भने उल्लेख्य रूपमा भएको छ। हालसम्म २ लाख ३७ हजार ८४० ओटा राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म र १० लाख ३८ हजार ५२३ ओटा सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म हुलाकमार्फत पुर्याइएको छ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका २६३ ओटा शैक्षिक प्रमाणपत्र तथा विभिन्न १७ ओटा अस्पतालका १ हजार ४३६ ओटा स्वास्थ्य प्रयोगशाला नमुना पनि हुलाकमार्फत ढुवानी गरिएको छ।
सरकारले हुम्लाबाहेक सबै जिल्लामा राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजातको होम डेलिभरी सेवा विस्तार भएको जनाएको छ। तर उपलब्ध तथ्यांकले दैनिक तथा मासिक सेवाग्राहीको चापको तुलनामा घरमै वितरण सेवा अपेक्षित प्रभावकारी भएको देखिदैन।
