
काठमाडौं । उद्योग विभागले उद्योग दर्ता, नवीकरण, विदेशी लगानी स्वीकृतिलगायत अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा अनलाइन प्रणालीबाट उपलब्ध गराउन थालेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि विभागले सूचना जारी गर्दै अब अधिकांश सेवा Industrial Management Information System (IMIS) मार्फत सञ्चालन हुने जनाएको हो।
विभागका अनुसार उद्योग दर्ता, नवीकरण, उद्योग अद्यावधिक, उद्योग स्थानान्तरण, पुँजी तथा क्षमता वृद्धि, नाम तथा उद्देश्य संशोधन, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस, वार्षिक प्रगति विवरण, कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) सम्बन्धी सेवा तथा IEE/TOR स्वीकृतिलगायतका सेवा अब अनलाइनबाटै लिन सकिनेछ।
अनलाइन प्रणालीमा समावेश भएका सेवाका लागि सेवाग्राही स्वयं विभागमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ। आवश्यक परे सम्बन्धित उद्योग वा कम्पनीका आधिकारिक प्रतिनिधिले परिचयपत्रसहित उपस्थित भएर आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्।
विभागले अनलाइन प्रणालीमा समावेश भएका सेवासम्बन्धी आवेदन र कागजात अब भौतिक रूपमा दर्ता नगर्ने स्पष्ट गरेको छ। सम्पूर्ण प्रक्रिया विद्युतीय माध्यमबाटै सम्पन्न गरिनेछ।
उद्योग प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको विभागले जनाएको छ। विभागले उद्योगी–व्यवसायीलाई IMIS प्रणालीको अधिकतम उपयोग गर्न तथा आवश्यक जानकारी विभागको वेबसाइटमार्फत प्राप्त गर्न आग्रह गरेको छ।
