Nepal Purbadhar

स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयनमा सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित


काठमाडौं। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सक संघले जारी राखेको आन्दोलन तत्कालका लागि स्थगित गरेको छ।

बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि पाँचबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका छिट्टै तयार गरिने तथा स्वास्थ्य संस्थामा हुने तोडफोड र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाइने सहमति भएको छ।

त्यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गर्ने, नेपाल चिकित्सक संघसँगको सहकार्यमा कार्यदल गठन गर्ने तथा कार्यान्वयनको प्रगति नियमित रूपमा समीक्षा गर्ने विषयमा पनि सहमति भएको छ।

पछिल्ला दिनमा स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। सरकारसँग सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने जनाएको छ।


Read Previous

उद्योग विभागका अधिकांश अटोमेसनमा, उद्योग दर्तादेखि विदेशी लगानीसम्म अनलाईनबाटै

Read Next

पहिरोले १३२ केभी प्रसारण लाइनको टावरमा क्षति, दुई जलविद्युत् आयोजनाको विद्युत् प्रवाह प्रभावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar