Nepal Purbadhar

दशरथ रंगशालामा अलपत्र सुकुम्बासीका सामान, साढे दुई महिनादेखि व्यवस्थापन नहुँदा कुहिन थाले


काठमाडौं। काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाउने क्रममा संकलन गरिएका सामान साढे दुई महिनादेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अलपत्र परेका छन्। लामो समयसम्म व्यवस्थापन नहुँदा वर्षाको पानीले अधिकांश सामान कुहिन थालेको र दुर्गन्ध फैलिएको रंगशालाका कर्मचारीहरूले बताएका छन्।

सरकारले गत वैशाखमा नदी किनारका सुकुम्बासी बस्ती हटाउँदै डोजर चलाएको थियो। त्यसक्रममा सुकुम्बासी परिवार र उनीहरूका सामान दशरथ रंगशालामा ल्याएर राखिएको थियो। पछि सुकुम्बासीलाई अस्थायी व्यवस्थापनका रूपमा विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिए पनि सबै सामान भने रंगशालाबाट हटाइएको छैन।

रंगशालामा रहेका फर्निचर, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री लामो समयदेखि खुला स्थानमा थन्किँदा वर्षाको पानीले भिजेर प्रयोग गर्नै नसकिने अवस्थामा पुगेका छन्। केही सामग्री कुहिएर दुर्गन्ध फैलिन थालेपछि रंगशालाको वातावरणसमेत प्रभावित भएको कर्मचारीहरूको भनाइ छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतका कर्मचारीहरूले गृह मन्त्रालय र काठमाडौं महानगरपालिकालाई पटक–पटक सामान व्यवस्थापन गर्न आग्रह गरे पनि हालसम्म कुनै निकायबाट आवश्यक पहल नभएको गुनासो गरेका छन्।

रंगशालामा लामो समयदेखि सामान थुप्रिँदा खेलकुद गतिविधि र परिसर व्यवस्थापनमा समेत असर परेको कर्मचारीहरूले बताएका छन्। सम्बन्धित निकायले छिट्टै सामान व्यवस्थापन नगरे थप क्षति हुनुका साथै सरसफाइ र स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने उनीहरूको चेतावनी छ।


Read Previous

टिकटकले नेपालमा एआई साक्षरता अभियान विस्तार गर्दै, एआई कन्टेन्ट चिन्ने नयाँ सुविधा थपिदै

Read Next

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित, निकाल्यो यस्तो सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar