
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोटबाट रसुवा जाने मुख्य सडक अवरुद्ध भएपछि विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने वैकल्पिक सडकको विस्तार तथा स्तरोन्नति सुरु गरिएको छ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटले वैकल्पिक सडकलाई तत्काल सञ्चालनयोग्य बनाउन स्तरोन्नतिको काम अघि बढाएको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटबाट रसुवा जाने सडकमा क्षति पुर्याएपछि प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोगमा ल्याएको थियो। वैकल्पिक सडक साँघुरो तथा कठिन भएकाले आवतजावत र राहत सामग्री ढुवानी सहज बनाउन सडक सुधार थालिएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडकमा देखिएका समस्या समाधान गर्दै स्तरोन्नतिको कामलाई निरन्तरता दिइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनका अनुसार नागरिकको आवतजावतमा कठिनाइ नहोस् तथा राहत र अत्यावश्यक सामग्रीको ओसारपसार सहज होस् भन्ने उद्देश्यले सडक स्तरोन्नति भइरहेको छ।
विदुरदेखि जिरोकिलोसम्मको दूरी करिब १५ किलोमिटर रहेको बताइएको छ।
