
काठमाडौं वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटनापछि अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।
घटनाको विरोधमा राजीनामा दिएका चिकित्सकहरूको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा नेपाल चिकित्सक संघको नेतृत्वमा मंगलबार काठमाडौंमा व्यापक छलफल भइरहेको छ।
छलफलमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्षहरू, पूर्वमहासचिवहरू, विभिन्न अस्पतालका निर्देशक, वरिष्ठ चिकित्सक, विशेषज्ञ चिकित्सकहरूको संस्था (स्पेसालिस्ट सोसाइटी), इन्टर्न तथा रेजिडेन्ट चिकित्सकहरू लगायत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका छन्।
छलफलमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा, कार्यस्थलमा हुने हिंसाका घटनाको रोकथाम, दोषीमाथि कानुनी कारबाही तथा आन्दोलनका आगामी कार्यक्रमबारे रणनीति तय गर्ने विषयमा केन्द्रित भएर विचार–विमर्श भइरहेको जनाइएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले यसअघि नै देशभर आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा स्थगित गर्दै आन्दोलन गरिरहेको छ। संघले स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता र दोषीमाथि कडा कारबाही नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ।
चिकित्सकमाथि भएको आक्रमणपछि चिकित्सा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको सुरक्षा र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ।
