Nepal Purbadhar

खिम्ती-घ्वाङ साना जलविद्युत् आयोजनाको लगनी जुट्यो, एनएमबी बैंकले १२४ करोड ऋण लगानी गर्ने


काठमाडौं। दोलखा र रामेछाप जिल्लाको सीमामा निर्माणाधीन खिम्ती-घ्वाङ साना जलविद्युत् आयोजना (९ मेगावाट) का लागि एनएमबी बैंकले १२४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ।

आयोजना प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैंकबीच सोमबार ऋण लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको हो। सम्झौतामा एनएमबी बैंकका तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रवन्ध निर्देशक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन्।

कम्पनीले दोलखाको जिरी नगरपालिका-१ र रामेछापको गोकुलगंगा गाउँपालिका-१ को सीमाबाट बग्ने खिम्ती-घ्वाङ खोलामा आयोजना निर्माण गरिरहेको छ। आयोजना २०८४ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति गत वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्राप्त भइसकेको छ। साथै, आवश्यक निजी जग्गा खरिद, निर्माणस्थलसम्म पहुँचमार्ग, कन्ट्रक्सन पावर, गोदाम तथा आवास गृह निर्माण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सिभिल, हाइड्रो-मेकानिकल तथा इलेक्ट्रो-मेकानिकल निर्माणको ठेक्का सम्झौता सम्पन्न भई हालसम्म आयोजनाको करिब ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।

आयोजनाको कुल लागत १ अर्ब ८० करोड रुपैयाँ रहेको छ। यसमध्ये १ अर्ब २४ करोड रुपैयाँ एनएमबी बैंकबाट ऋण लगानी हुने भएको हो। बाँकी ५६ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) मध्ये हालसम्म ३५ करोड रुपैयाँ जुटिसकेको तथा बाँकी ३० करोड रुपैयाँ असोजभित्र जुटाउने तयारी भइरहेको कम्पनीका प्रवन्ध निर्देशक प्रकाश चन्द्र दुलालले जानकारी दिए।

कम्पनीका अनुसार आयोजना गौरिशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुन लागेको हो। आधुनिक ‘हाइड्रो-सेलेक्ट टुल्स’ प्रयोग गरी सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्दै निर्माण गरिने नेपालकै पहिलो जलविद्युत् आयोजना हुने दाबी कम्पनीले गरेको छ।


Read Previous

नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, थप आन्दोलन बारे छलफल गर्दै

Read Next

व्यवसायीसँग अर्थमन्त्रीले भने, ‘सरकारले उद्योग चलाउँदैन, निजी क्षेत्रलाई विस्तारको वातावरण बनाउँछौ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar