Nepal Purbadhar

धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, आफ्नो भूमिकाअनुसार सहयोग गर्ने बाचा


काठमाडौं। सिंहदरबारको मूल प्रवेशद्वारमा आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले भेटवार्ता गरेकी छन्।

मन्त्रालयमा भएको भेटवार्ताका क्रममा यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका अन्य मागबारे मन्त्री बादीसमक्ष धारणा राखिन्।

यसअघि सरकार पक्षसँग भएको सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्दै यादवले मन्त्रालयसमक्ष लिखित निवेदनसमेत पेस गरेकी छन्।

मन्त्री बादीले यादवले उठाएका विषयप्रति मन्त्रालय संवेदनशील रहेको बताउँदै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाइन्।

सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी कानुनबमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालयले आफ्नो भूमिकाअनुसार सहयोग गर्ने उनले बताइन्।

भेटवार्ताका क्रममा यादवको स्वास्थ्य अवस्था, आवश्यक सहयोग तथा जीविकोपार्जनसँग सम्बन्धित विषयमा समेत छलफल भएको थियो। मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिर रहेका विषयलाई सम्बन्धित निकायमा आवश्यक पहलका लागि पठाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री बादीले नागरिकका गुनासा तथा सरोकारप्रति सरकार संवेदनशील रहेको बताउँदै संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्नु सरकारको दायित्व भएको बताइन्।


Read Previous

जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०-१० लाख जरिवाना

Read Next

जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar