
तस्बिर:एआई
काठमाडौं । कलैया उपमहानरपालिकाका सुशिल राज जोशी विद्युत प्राधिकरणले लाइन काटेर हैरान छन् । गर्मीले बेहाल भएको समयमा प्राधिकरणले लाइन काट्दा सर्वसाधरणले दुख पाइरहेको उनको गुनाँसो छ । प्राधिकरणलाई उनले चेतावनी दिए- ‘यसलाई छिटो सुधार गर्नुस् अन्यथा कुनै दिन जनता निक्कै आत्तिएर प्राधिकरणको कार्यालय घेराउ गर्न बेर छैन ।’
नेपालगञ्जका खुम बहादुर पुन बत्ती नियमति जाने समस्या रातभरी सुत्न नसकेको बताउँछन् । उनले इन्भर्टर हुनेहरु खुसी भएर पनि झुप्रामा बस्ने गरिबहरुलाई ठूलो समस्या भएको बताउछन् । ‘पीएम बालेन शाह ज्यू, नेपालगञ्ज नेपालकै सबैभन्दा गर्मी हुने ठाउँ हो । इन्भर्टरहरु हुनेहरु मजामा छन् । हजुरहरु एक रात नेपालगञ्जकाझोपडीमा आएर रात बिताउनुहोस् तब पत्ता लाग्नेछ,’ उनले भने, ‘यस्तो गर्मीमा लाइन काट्ने नेपालगञ्जको विद्युत कार्यालयहरुलाई कडा सजाय होस् ।’
छत्रमणी ओझा लो भोल्टेजको समस्याले हैरान छन् । ‘नेपालगञ्जमा विद्युत प्रसारण अमानवीय हिसाबले सञ्चालन हुन्छ । बत्ती हुन्छ तर पंखा नघुम्ने भोल्टेजले पंखा घुम्ने आशामा रातभरी तनावग्रस्त जीवन बिताउन किन बाध्य बनाएको जनतालाई बुझ्न गाह्रो भो ।’
अजिज मलिकले बत्ती जाने समस्याले हैरानी खेपेका छन् । ‘आज भोलिको चर्को गर्मीमा दिनभरि पसिना बगाएर काम गरेको एउटा आम नागरिक साँझ घर फर्किदा उसको चाहना ठूलो हुँदैन, केवल परिवारसँग दुई घडी बस्न, बालबच्चालाई शान्तिसँग सुताउन र आफू पनि पङ्खाको हावामा केही घण्टा आराम गर्न पाओस् भन्ने मात्र हुन्छ। तर बाँके, विशेष गरी कोहलपुर/नेपालगञ्जमा, हरेक दिन लगभग एउटै समयमा बिजुली जान्छ। यस्तो अत्यधिक गर्मीमा रातभरि बिजुली नहुँदा साना बालबालिका, वृद्धवृद्धा र बिरामी सबैभन्दा बढी सास्ती भोगिरहेका छन्। बिचौलिया हटाउनुभयो, धन्यवाद। तर अब स्टेबलाइजर बिना बिजुली नै भरपर्दो नचल्ने अवस्था किन आयो? यो कस्तो व्यवस्थापन हो?,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आम नागरिकलाई कृपया मूर्ख नसम्झिनुहोस् यदि प्राविधिक समस्या हो भने स्पष्ट जानकारी दिनुहोस्। होइन भने स्थायी समाधान गर्नुस्। जनतालाई भाषण होइन, नियमित उज्यालो र शान्त निद्रा चाहिएको छ।’

देशमा विद्युत् उत्पादन पर्याप्त रहेको र लोडसेडिङ अन्त्य भएको दाबी भइरहेका बेला पछिल्ला केही सातायता देशका विभिन्न क्षेत्रमा बारम्बार विद्युत् अवरुद्ध हुन थालेपछि सर्वसाधारणले फेरि लोडसेडिङ फर्किएको अनुभूति गर्न थालेका छन्। विशेषगरी अत्यधिक गर्मी भइरहेका तराईका जिल्लामा बारम्बार बत्ती जाँदा जनजीवन कष्टकर बनेको छ।
बारा, बाँके, कैलाली, रूपन्देहीलगायत तराईका विभिन्न जिल्लाबाट दिनमा पटक–पटक विद्युत् जाने, राति लामो समयसम्म आपूर्ति अवरुद्ध हुने तथा कतिपय स्थानमा अत्यन्त न्यून भोल्टेजका कारण पंखासमेत नघुम्ने गुनासो बढ्न थालेको छ।
हाल प्रणालीमा विद्युत्को अभाव छैन। वर्षायाम सुरु भएसँगै जलविद्युत् उत्पादन समेत बढिरहेको छ। यस्तो अवस्थामा उत्पादनको समस्या नभई विद्युत् वितरण र प्रणाली व्यवस्थापन कमजोर भएको आरोप उपभोक्ताले लगाउन थालेका छन्।
विशेषगरी अत्यधिक गर्मीका बेला बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुनु र न्यून भोल्टेजको समस्या समाधान गर्न नसक्नुले नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली र व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।

लोडसेडिङ अन्त्य गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा कमाएको प्राधिकरण अहिले भने पर्याप्त विद्युत् हुँदाहुँदै पनि उपभोक्तालाई भरपर्दो सेवा दिन नसकेको आरोपको सामना गरिरहेको छ। यदि समस्या तत्काल समाधान नभए, तराईका जिल्लामा बढ्दो जनआक्रोश थप चर्किने संकेत देखिन थालेको छ।
तराईमा बत्ती जाने समस्याका कारण आम सर्वसाधरणको जीवन कष्टकर बनेको छ । गर्मीका कारण राती बिजुली नहुँदा निदाउनै नसक्ने अवस्था छ ।
तराईका गर्मी ठाउँमा मात्रै होइन् याद गर्नु भएको छ- पछिल्लो समय देशभरी नै झ्याप झ्याप बत्ती जान थालेको छ ।
दिनमै ४/५ पल्टसम्म बत्ती गएपछि कतिपयले फेरी लोडसेडिङ सुरु भएको भन्दै सामाजिक सञ्जालहरुमा लेखिरहेका छन् । यसरी विगतमा ग्राहस्तवर्गमा लाइन जाने समस्या नभएपनि पछिल्लो केहि साता यता बत्ती झ्याप झ्याप जाने समस्या बढेको छ ।
नेपाल विद्युत प्राधिकरणले रातको समयमा ६०० मेगावाटभन्दा बढी बिजुली भारत निर्यात गरिरहेको छ । प्रणालीमा सरप्लस भएर बिजुली निर्यात गरिरहेको प्राधिकरणले भने स्थानीय रुपमा व्यवस्था गर्न नसक्दा अवस्था बेहाल हुन पुगेको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठ बिजुलीको व्यवस्थाभन्दा पनि प्राधिकरणको कार्यकारी निर्देशक कसरी बन्ने भन्ने ध्याउन्नमा लागेका कारण पनि यो समस्या आएको प्राधिकरणका कर्मचारीहरुको भनाई छ । उनी प्राधिकरणको व्यवस्थापनभन्दा पनि आफु कार्यकारी निर्देशक बन्न शक्ति केन्द्रहरु धाउने,बिचौलियाहरुसंग उठबस गरिरहेका कारण यो समस्या आएको ती कर्मचारीहरुको आरोप छ ।
सुशासन र जनतालाई सेवा दिने भन्दै झण्डै दुईतिहाई मत ल्याएको सरकारले समेत जनताको समस्यालाई बुझ्न सकेको छैन् । प्रधानमन्त्री बालेन शाह, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसमेत आम मानिस रातभरी निदाउन नसकेको समस्यालाई बुझ्न नसकेको गुनाँसो छ । त्यसमाथि प्राधिकरणको नेतृत्वले आवश्यक सामानको समेत जोहो गर्न सकेको छैन् । ट्रान्सफर्मर, मिटर,तार,पोलको चरमा अभाव छ । जसका कारण प्राधिकरणको गुणस्तरीय सेवामा समेत प्रभाव परेको छ ।
प्राधिकरणक निमित्त कार्यकारी निर्देशक श्रेष्ठ भने विस्तारै सामान अभावको समस्याहरु हटिरहेको बताउँछन् । उनले सामानहरु आउन थालेकाले यी ससम्याहरु हटिरहेको दाबी गर्छन् ।

प्राधिकरणका अनुसार अहिले प्राधिकरणको ९ हजार ८११ मेगावाट आवर, प्राधिकरणका सहायक कम्पनीको १५ हजार ८५६ मेगावाट आवर, निजी क्षेत्रको ४२ हजार १९८ मेगावाट आवर उत्पादन छ । नेपालको स्थानीय माग ५० हजार ६६ मेगावाट आवर छ । उत्पादित बिजुली सरप्लस भएर १८ हजार ८३१ मेगावाट आवर निर्यात भइरहेको छ । भारतसंग केहि बिजुली आयात समेत भइरहेको छ ।

