Nepal Purbadhar

एआईदेखि रोबोटिक्सका परियोजनाको प्रदर्शनी शुरू, विद्यार्थीलाई लगानीकर्तासँग जोड्ने लक्ष्य


काठमाडौं। सूचना प्रविधि (आईटी) र व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीहरूले तयार पारेका नवप्रवर्तनशील परियोजनाको प्रदर्शनी ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौँमा सुरु भएको छ। अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँग सम्बन्धन प्राप्त प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको दुईदिने टेक तथा बिजनेस कार्निभल बिहीबारदेखि शुरूभई शुक्रबारसम्म सञ्चालन हुनेछ।

विद्यार्थीहरूको सिर्जनशीलता, डिजिटल नवप्रवर्तन र भविष्यका सीप प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बीएससी आईटीका विद्यार्थीहरूले एआई, सफ्टवेयर तथा वेब डेभलपमेन्ट, साइबर सुरक्षा, मल्टिमिडिया लगायतका क्षेत्रमा आधारित ५५ भन्दा बढी परियोजना प्रदर्शन गरेका छन्। करिब १७० विद्यार्थीको सहभागिता रहेका यी परियोजनामा प्राविधिकसँगै व्यावसायिक सम्भावना रहेको कलेजका कलेजका संस्थापक एवम् अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए।

यस वर्षको ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०’ लाई कम्प्युटर भिजन तथा कृत्रिम बुद्धिमत्ता (एआई), आइओटी तथा रोबोटिक्स, साइबर भिलेज, सफ्टवेयर र टेक्नोभर्सिटी गरी पाँच मुख्य क्षेत्रमा विभाजन गरिएको छ।

प्रदर्शनीमा पुष्पवृष्टि गराउने एफपीभी ड्रोन, फुटबल खेल्ने रोबोट, संगीतमा नाच्ने डान्सिङ रोबोट, अनुहारको भाव विश्लेषण गरेर संगीत सिफारिस गर्ने एआई प्रणाली, स्मार्ट सिँचाइ, स्मार्ट होम सिस्टम, साइबर सुरक्षा समाधान, पर्यटन प्रवर्द्धन गर्ने सफ्टवेयर तथा ३६० डिग्री क्यामेराद्वारा रिमोटबाट सञ्चालन गर्न सकिने अटोनोमस गाडीलगायत परियोजनाले दर्शकको ध्यान आकर्षित गरेका छन्।

यस वर्ष टेक्नोभर्सिटी प्याभिलियनमा भर्खरै प्लस टु उत्तीर्ण गरेका विभिन्न कलेजका ३४ भन्दा बढी विद्यार्थीले प्रेसिडेन्सियल ग्राजुएट स्कुलका विद्यार्थीको मेन्टरशिपमा आफ्ना नवप्रवर्तनशील अवधारणाहरू विकास गरी प्रदर्शन गरेका छन्। उत्कृष्ट परियोजनालाई एक लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने कलेजले जनाएको छ।

कार्यक्रम प्लस टु उत्तीर्ण, स्नातक तहका विद्यार्थी तथा सूचना प्रविधि र उद्यमशीलतामा रुचि राख्ने युवालाई लक्षित गरिएको हो। प्रदर्शनीमा प्रवेश निःशुल्क राखिएको छ।

अध्यक्ष केसीका अनुसार कलेजको बिजनेस इन्क्युबेसन सेन्टरले उत्कृष्ट परियोजनालाई व्यावसायिक उत्पादन र स्टार्टअपका रूपमा विकास गर्न आवश्यक सहजीकरण गर्नेछ। आईटी र व्यवस्थापनका विद्यार्थीबीचको सहकार्यले परियोजनालाई बजार र लगानीका लागि तयार बनाउने लक्ष्य रहेको उनले बताए।

“नेपालमै विश्वस्तरीय प्रविधि र नवप्रवर्तन सम्भव छ भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो। विद्यार्थीहरूले स्क्र्याचबाट तयार गरेका यी परियोजनालाई हरेक वर्ष अझ परिष्कृत रूपमा निरन्तरता दिनेछौँ,” केसीले भने।

हाल करिब १ हजार ४०० विद्यार्थी अध्ययनरत प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा ९० भन्दा बढी प्राध्यापक र ४५ भन्दा बढी व्यवस्थापन कर्मचारी कार्यरत छन् । स्कुलका निर्देशक तथा प्रिन्सिपल कल्पना गुरुङका अनुसार वेस्टक्लिफ युनिभर्सिटीसँगको सहकार्यमा उपलब्ध क्रेडिट ट्रान्सफर सुविधाले विद्यार्थीलाई अन्तर्राष्ट्रिय अध्ययनको अवसरसमेत प्रदान गर्छ।

उनले ‘प्रेसिडेन्सियल इन्नोभिस्टा’ लाई वार्षिक कार्यक्रमका रूपमा निरन्तर सञ्चालन गरिने र उद्योगी, व्यवसायी तथा लगानीकर्तासँग विद्यार्थीलाई जोड्दै रोजगारी र स्टार्टअपका अवसर सिर्जना गरिने बताइन्।


Read Previous

बजेटमा तत्कालै खोल्ने घोषणा भएको १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए किन खुलेन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar