Nepal Purbadhar

काठमाडौं महानगरको नीति तथा कार्यक्रम: फोहोर व्यवस्थापन पहिलो प्राथमिकता, प्रविधिमैत्री सेवामा जोड

नीति तथा कार्यक्रम प्रस्तुत गर्दैं महानगर कार्यबाहक प्रमूख सुनिता डंगोल। तस्बीर: फोटो लाइब्रेरी।


काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा फोहोरमैला व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेको छ। महानगरको १९औँ नगर अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा आधुनिक प्रविधिको प्रयोगमार्फत फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको छ।

नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले फोहोरलाई निःशुल्क, सःशुल्क, न्यूनीकरण तथा पुनःप्रयोगजस्ता वर्गमा विभाजन गरी व्यवस्थापन गरिने बताइन्। यसका लागि महानगर क्षेत्रलाई सात समूहमा विभाजन गरेर प्रविधिमैत्री फोहोर व्यवस्थापन प्रणाली लागू गरिने जनाइएको छ।

उनका अनुसार आगामी आवको नीति तथा कार्यक्रममा १०१ बुँदा समेटिएका छन्। फोहोर स्थानान्तरण केन्द्रबाट निस्कने अवशिष्ट फोहोरलाई बञ्चरेडाँडा ल्याण्डफिल साइटमा यान्त्रिकीकृत फोहोर व्यवस्थापन तथा पुनःप्राप्ति केन्द्र (एमआरएफ) सञ्चालन गरी वैज्ञानिक ढंगले व्यवस्थापन गरिने योजना रहेको छ।

महानगरले ‘प्रदूषकले शुल्क तिर्ने’ सिद्धान्तअनुसार फोहोरमैला व्यवस्थापन सेवा शुल्क एकद्वार प्रणालीमार्फत सङ्कलन गर्ने व्यवस्था पनि प्रस्ताव गरेको छ। साथै, राजस्व व्यवस्थापनलाई थप पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाउन आगामी आर्थिक वर्षदेखि कर प्रणाली अडिट सुरु गरिने जनाइएको छ। करको दायराबाहिर रहेका करदाताको पहिचान गरी कर तिर्ने वातावरण सिर्जना गरिने नीति महानगरले लिएको छ।

स्वास्थ्य क्षेत्रतर्फ आयुर्वेद, वैकल्पिक चिकित्सा, योग तथा व्यायाममार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने योजना समावेश गरिएको छ। निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइने तथा महानगरभित्र सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाको नियमित अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहमा जोड दिइने उल्लेख गरिएको छ।

त्यस्तै, विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ। कर्मचारीको क्षमता अभिवृद्धिसँगै महानगर र सबै वडा कार्यालयमा एकद्वार सेवा केन्द्र सञ्चालन गर्ने नीति पनि अघि सारिएको छ।

नीति तथा कार्यक्रममा विश्वका सफल सहरका असल अभ्यासबाट सिक्दै प्रविधि हस्तान्तरण, सूचना तथा सांस्कृतिक आदानप्रदानमार्फत काठमाडौंको समग्र विकासलाई गति दिने तथा प्रदेश र स्थानीय तहका प्रभावकारी अभ्यासलाई अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।


Read Previous

इप्पान निर्वाचन प्रक्रियामाथि मिथुन पौडेलको प्रश्न, ‘इप्पान रिफर्म’ अभियान जारी रहने

Read Next

युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने आधार बजेटले बनाएको छ : अर्थमन्त्री वाग्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar