Nepal Purbadhar

इप्पान निर्वाचन प्रक्रियामाथि मिथुन पौडेलको प्रश्न, ‘इप्पान रिफर्म’ अभियान जारी रहने


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २४औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रियाप्रति कोषाध्यक्ष पदका उम्मेदवार मिथुन चक्रवर्ती प्रसाद पौडेलले विभिन्न प्रश्न उठाउँदै संस्थागत सुधारको अभियानलाई निरन्तर अघि बढाउने बताएका छन्।

निर्वाचनमा सहभागी सम्पूर्ण सदस्य, मतदाता, शुभेच्छुक तथा ऊर्जा क्षेत्रका सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै पौडेलले अधिवेशनका क्रममा दुई पक्षबीच सहमतिको प्रयास भए पनि त्यो प्रक्रिया सम्मानजनक, समावेशी र पारदर्शी हुन नसकेको बताएका छन्।

उनले सहमति सबै पक्षको सम्मान र सहभागिता सुनिश्चित हुने गरी भए आफू तयार रहेको स्पष्ट अडान राखेको उल्लेख गर्दै आफ्नो टिमको सम्मान र सहभागितालाई पर्याप्त महत्व नदिइएको अवस्थामा उम्मेदवारी फिर्ता नलिने निर्णयमा दृढ रहेको बताएका छन्।

पौडेलका अनुसार निर्वाचन तत्काल नहुने, सहमतिको प्रक्रिया जारी रहने र निर्वाचन स्थगित हुने वातावरण निर्माण गरिएको सन्देशका आधारमा धेरै मतदाता तथा समर्थकलाई घर फर्कन अनुरोध गरिएको थियो। आफू पनि घर फर्किएको उल्लेख गर्दै उनले त्यसपछिको घटनाक्रममा निर्वाचन प्रक्रिया अघि बढाइँदा व्यवस्थापन र समन्वयसम्बन्धी विभिन्न प्रश्न उठेको बताएका छन्। उनले यस विषयमा संस्थागत रूपमा गम्भीर समीक्षा आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

कुल ६८३ मतमध्ये ३७७ मत मात्रै मतदान प्रक्रियामा प्रयोग भएको तथ्यले सदस्यहरूको प्रत्यक्ष सहभागिता, प्रतिनिधित्व तथा प्रोक्सी प्रणालीको प्रभावकारितामाथि थप बहस आवश्यक रहेको उनको भनाइ छ। भविष्यमा संस्थाको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ, पारदर्शी र सहभागी बनाउन प्रोक्सी प्रणालीलगायतका विषयमा गम्भीर पुनरावलोकन गरिनुपर्ने उनले बताएका छन्।

निर्वाचनबाट निर्वाचित कोषाध्यक्ष तथा नयाँ नेतृत्वलाई बधाई दिँदै पौडेलले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। निर्वाचित कोषाध्यक्ष आफ्ना निकट मित्रसमेत रहेको उल्लेख गर्दै संस्थाको हितका लागि उहाँको सफलताको कामना गरेका छन्।

पौडेलले निर्वाचनको परिणाम जे भए पनि ‘इप्पान रिफर्म’को एजेन्डा अटल र निरन्तर रहने बताएका छन्। संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व, युवा सहभागिता तथा ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि आफ्नो आवाज र योगदान निरन्तर रहने उनको भनाइ छ।

विशेषगरी इन्जिनियरिङ क्षेत्रका मुद्दा, प्राविधिक क्षमता अभिवृद्धि तथा संस्थागत सुधारका विषयमा इप्पानसँग सहकार्य गर्दै आवश्यक सुझाव र सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले व्यक्ति चुनाव हार्न सक्ने भए पनि विचार कहिल्यै नहार्ने बताएका छन्। इप्पानलाई अझ पारदर्शी, सहभागी र भविष्यदर्शी संस्थाका रूपमा रूपान्तरण गर्ने अभियान झन् बलियो रूपमा अघि बढ्ने उनको दाबी छ।


Read Previous

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने

Read Next

काठमाडौं महानगरको नीति तथा कार्यक्रम: फोहोर व्यवस्थापन पहिलो प्राथमिकता, प्रविधिमैत्री सेवामा जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar