Nepal Purbadhar

युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने आधार बजेटले बनाएको छ : अर्थमन्त्री वाग्ले


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले कदम चालेको बताएका छन्। उनले आगामी आर्थिक वर्षको बजेटमार्फत त्यसको सुरुवात गरिएको र आगामी पाँच वर्षभित्र त्यसलाई सार्थक निष्कर्षमा पुर्‍याउने लक्ष्य रहेको बताए।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पछिल्ला डेढ दशकदेखि नेपाली युवाहरू आफ्नो भविष्य निर्माणका लागि विदेश जान बाध्य भएको उल्लेख गरे।

“पछिल्लो १५-२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने अवस्था सिर्जना भएको छ,” उनले भने, “अब त्यस्तो परिस्थिति दोहोरिन नदिन आवश्यक आधार निर्माण गर्ने काम बजेटमार्फत सुरु गरेका छौँ। बजेटको प्रभाव कार्यान्वयनसँगै देखिन थाल्नेछ।”

देशभरबाट सहभागी युवा उद्यमीहरूलाई सम्बोधन गर्दै उनले कर प्रणालीमा सुधार, बक्यौता तथा कानुनी झन्झटमा परेका व्यवसायीका लागि सहुलियत, सरकारी सेवाको डिजिटल रूपान्तरण तथा सुशासनलाई बजेटका प्रमुख प्राथमिकताका रूपमा अघि सारिएको बताए। यस्ता कार्यक्रमले उद्यमशीलता प्रवर्द्धन गर्दै देशको आर्थिक विकासको नयाँ मार्ग खोल्ने उनको विश्वास छ।

अर्थमन्त्री वाग्लेले करको दर पुनरावलोकन गरी वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवालाई करको झन्झटबाट मुक्त गरिएको जानकारी दिए। साथै, कर तथा अन्य प्रशासनिक जटिलतामा परेका उद्योगी-व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियतपूर्ण व्यवस्था बजेटमा समेटिएको भन्दै त्यसको लाभ लिन आग्रह गरे।

बजेट निर्माणका क्रममा युवाको उद्यमशील सोच, नवप्रवर्तन र व्यवसाय विस्तारका सम्भावनालाई विशेष महत्व दिइएको उल्लेख गर्दै उनले युवा लक्षित विभिन्न कार्यक्रमहरू घोषणा गरिएको बताए। उनका अनुसार स्वदेशमै रोजगारी, लगानी र उद्यमका अवसर विस्तार गर्दै युवालाई देशभित्रै भविष्य देखाउन सरकारले नीतिगत तथा संरचनागत सुधारलाई निरन्तरता दिनेछ।


Read Previous

काठमाडौं महानगरको नीति तथा कार्यक्रम: फोहोर व्यवस्थापन पहिलो प्राथमिकता, प्रविधिमैत्री सेवामा जोड

Read Next

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar