Nepal Purbadhar

बाढीपीडितको उद्धारमा बिजी ग्रुपको मानवीय पहल, १ करोड २ लाख ७७ हजार सहयोग


काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बिजी ग्रुप प्रालिले १ करोड २ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ।

ग्रुप मातहतका विभिन्न योजना तथा कम्पनीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

मंगलबार आयोजित कार्यक्रममा बिजी ग्रुपका प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा कार्यकारी अध्यक्ष बटु लामिछानेले उक्त रकम बराबरको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे।

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको ग्रुपले जनाएको छ।

कार्यकारी अध्यक्ष लामिछानेले बाढीका कारण प्रभावित जिल्लामा अकल्पनीय क्षति भएको भन्दै सहयोग रकमले पीडित नागरिकको राहत तथा उद्धारमा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरे।

बिजी ग्रुपले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु मानवीय दायित्व भएको भन्दै निजी क्षेत्रले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।

बटु र गणेशको नेतृत्वमा सामाजिक उत्तरदायित्व

गणेश कार्की र बटु लामिछानेको नेतृत्वमा रहेको बिजी ग्रुपले व्यवसाय विस्तारसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ।

कार्की ऊर्जा तथा जलविद्युत् क्षेत्रमा लामो समयदेखि सक्रिय व्यवसायी हुन् भने लामिछाने उद्योग तथा व्यवसाय क्षेत्रसँगै निजी क्षेत्रको प्रतिनिधित्वमा सक्रिय छन्। कार्की स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पूर्व अध्यक्षसमेत हुन् भने लामिछाने नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हुन्।

बिजी ग्रुपअन्तर्गत ५ ओटाभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न व्यवसायिक उद्योग र कम्पनी सञ्चालनमा रहेका छन्।

विपद्का बेला निजी क्षेत्रले राज्यको राहत तथा उद्धार अभियानमा सहकार्य गर्नुपर्ने आवश्यकता बढिरहेका बेला बिजी ग्रुपको यो सहयोगलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ।


Read Previous

भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय

Read Next

बाढीपीडितको उद्धारमा बिजी ग्रुपको मानवीय पहलः बटु र गणेशको नेतृत्वमा १ करोड २ लाख ७७ हजार सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar