
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.२१ अंकले बढेर २ हजार ७७७.५८ विन्दुमा पुगेको हो।
कारोबार अवधिभर नेप्सेमा उतारचढाव देखिए पनि अन्तिम समयमा बजार सकारात्मक बन्द भएको छ। उत्पादन तथा प्रशोधन समूहबाहेक अधिकांश उपसमूहमा हरियाली छाएको थियो। फाइनान्स उपसमूह सबैभन्दा बढी ६.३ प्रतिशतले बढेको छ।
मंगलबार १८४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ७७ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी सेन्ट्रल फाइनान्सको सेयर मूल्य १३.६७ प्रतिशत र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १०.५७ प्रतिशतले बढेको छ।
आज कुल ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
त्यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड ७८ लाख रुपैयाँ, रिडी पावर कम्पनीको २६ करोड ५ लाख रुपैयाँ तथा सेन्ट्रल फाइनान्सको २२ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यता, नबिल डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्। उक्त डिबेञ्चरको मूल्य ४.५९ प्रतिशतले घटेको छ।








